सडक निर्माणमा अनियमितता ७५ लाखको काम ४७ लाखमै सकियो



 

सल्यान, २० साउन ।

सल्यानको एक मोटरबाटोमा अनियमितता भएको भन्दै स्थानीयहरुले छानविनको माग गरेका छन् । उपभोक्ता समिती मार्फत भएको काममा योजनाको ठूलो रकम हिनामिना भएको स्थानीय उपभोक्ताहरुले आरोप लगाएका हुन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका एकमा रहेको रिखेबजार गैरिकटेरी बाघमारे मोटरबाटोमा उपभोक्ता समितीले मोटो रकम अनियमितता गरेको प्रमाण आफुहरु संग रहेको स्थानीयहरुको दाबी छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले विनियोजन गरेको ७५ लाख रुपैयाँमा कम र गुणस्तरहिन काम गरेको स्थानीय डिल्ली खड्काले बताए ।

उनी लगाएत स्थानीयहरु रत्न कुमार खड्का, कमल खत्री, लोकेन्द्र खड्का, ओम बहादुर खड्का, मान बहादुर पुन, खोपेन्द्र खड्का लगाएतकाले उपभोक्ता समिती गठन प्रक्रियामै एकलौटी गरेको भन्दै विरोध गरेका थिए ।

कोठाभित्र समिती गठन गरेको भन्दै समितीमा सबैलाइ समेट्न माग गर्दै आफुहरुले त्रिवेणी गाउँपालिकामा लिखित उजुरि तथा जिल्ला प्रशासन कार्यालयमा मौखिक उजुरि गरेको लोकेन्द्र खड्काले बताए । अहिले आएर काम कम गरेर योजना समेत फच्र्याैट गरिसकेको भन्दै गाउँलेहरुले अनियमितताको छानविन गर्न माग गरेका छन् ।

उक्त योजनामा सात सय २५ घण्टा डोजरले काम गरेको र प्रति घण्टा छ हजारको दरले ४३ लाख ५० हजार र मेशिनरि वालको चार लाख गरेर बढिमा ४७ लाख ५० हजार रुपैयाँको मात्रै काम भएको स्थानीयहरुले टिपोट गरेका छन् ।

‘तर ७५ लाखको योजनामा ४७ लाख ५० हजार रुपैयाँको मात्रै काम गरेर अरु सबै रकम भ्रष्टाचार भएको छ,’ एक स्थानीयले भने । मोटरबाटो निर्माण गर्दा सम्बन्धीत वडा कार्यालय संग कुनै समन्वय समेत नभएको बताइएको छ । रकम भुक्तानीका लागी निर्माण उपभोक्ता समितीले त्रिवेणी गाउँपालिका संग कार्यसम्पन्न भएको शिफारिस लगेको थियो ।

आफुहरुले योजनामा अनियमितता भएको र छानविन तथा अनुगमनका लागी अनुरोध गर्दागर्दै पनि गाउँपालिकाले समितीलाइ शिफारिश दिनुमा स्थानीय सरकारको पनि संलग्नता देखिने स्थानीय मान बहादुर पुनले बताए ।

रिखेबजार गैरिकटेरी बाघमारे मोटरबाटोमा उपभोक्ता समिती विरुद्ध अख्तीयारमा मुद्दा परेको बताइएको छ । गाउँलेहरुले उक्त योजनामा अनियमितता भएको प्रमाण समेत पेश गर्न तयार रहेको बताएका छन् । उपभोक्ता समितीले खर्च विवरण सार्वजनीक पनि नगरेको डिल्ली खड्काले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्