सल्यान पहिरो ७ सय घर जोखिममा



सल्यान, २१ श्रावण । लगातारको वर्षाका कारण सल्यान जिल्लामा ७०० भन्दा बढी घर पहिरोको जोखिममा रहेका छन् । लगातारको वर्षाले ठाउँठाउँमा पहिरो जाने क्रम शुरु भएसँगै जिल्लाका ७०० भन्दाबढी घर परिवार पहिरोको जोखिममा रहेको जिल्ला भू–संरक्षण कार्यालयले जनाएको छ ।

जोखिममा रहेका बस्तीमा कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, बागचौर नगरपालिकाको बाँफुखोला र कोटबारा, बनगाड कुपिण्डे नगरपालिकाको ब्युरेनी, निगालचुलालगायतका रहेका छन् । ती बस्तीमा बसोबास गर्ने ७०० बढी घरपरिवार पहिरोको जोखिममा रहेको भू–संरक्षण कार्यालय प्रमुख वीरेन्द्रप्रसाद पटेलले जानकारी दिनुभयो ।

जंगल मासेर सडक निर्माण गर्नेक्रम पछिल्लो समय बढ्दै गएका कारण पहिरोको जोखिम बढेको उहाँको भनाइ छ । ‘चुरे क्षेत्र र पहाडी बस्ती भएकाले पहिरोको जोखिम अन्य जिल्लाको तुलनामा यस जिल्लामा बढी छ’, उहाँले भन्नुभयो । अहिलेसम्म कुनै मानवीय क्षति नभए पनि करोडौँको भौतिक क्षति भएको उहाँको भनाइ छ ।

कपुरकोट र खर्सुवास उच्च जोखिममा
पहिरोका कारण कपुरकोट बजारसमेत उच्च जोखिममा परेको छ । वर्षातका कारण सो क्षेत्रको राप्ती लोकमार्गको झण्डै १०० मिटर भाग भासिएको छ । २०६९ सालमा सोही स्थानमा रहेको कालिका माविका तीन वटा भवन भासिएर भत्किँदा रु एक करोड बराबरको क्षति भएको थियो ।

आइतबार परेको अबिरल वर्षाले नयाँ ठाउँमा सारेको विद्यालय भवनसमेत पहिरोको जोखिममा परेको छ । वर्षाले विद्यालय प्राङ्गण निर्माण गर्न राखिएको १७५ वटा जाली बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रवीर कवरले जानकारी दिनुभयो ।
यस्तै जिल्लामा जोखिममा रहेका बस्तीमध्ये छत्रेश्वरी गाउँपालिकाको खर्सुबास गाउँ पहिरोको उच्च जोखिममा परेको छ । प्रत्येक वर्ष वर्षायाममा जस्तै यस वर्ष पनि यहाँ पहिरो जान थालेपछि स्थानीयवासी त्रसित बनेको खर्सुबास गाउँवासी टीकाराम पुनले बताउनुभयो । ‘पानी पर्न थालेपछि पहिराको डरले रातभर जाग्राम बस्ने गरेका छौं’, उहाँले भन्नुभयो ।

पहिरोको उच्च जोखिममा भए पनि वैकल्पिक व्यवस्था नहुँदा जोखिम मोलेरै गाउँमा बस्न बाध्य भएको पुनको भनाइ छ । विसं २०६९ मा गाउँको बीच भागबाट ठूलो पहिरो गएपछि वर्षेनी पहिरो खस्ने क्रम रोकिएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्