झुपडी बनाउने सपना छ : बुगीवुगीका विजेता कविता



काठमाडौं । दिनभर सिमसिमे पानी परेको काठमाडौंको चिसो मौसम। बुद्धनगरमा रहेको एपी वान टेलिभिजनको स्टुडियो भने सांगीतिक क्षेत्रका हस्तीको उपस्थिति र नृत्यकारको रौनकले मनोरञ्जक बनेको थियो। सबैमा बुगीवुगीका टाइटल विजेता को बन्लान् भन्ने उत्सुकता थियो।

विजेता घोषणा गर्ने समय आयो। मञ्चमा उपस्थित थिए उत्कृष्ट तीन प्रतिस्पर्धी कविता नेपाली, प्रगति पुन अनि सरोज मोक्तान। सरोज सेकेन्ड रनरअप भएको खुलासा सुरुमा भयो। प्रगति र कविताको अनुहारमा निकै उत्सुकता देखिन्थ्यो। छटपटी, उत्साह र कौतुहलपूर्ण समय थियो त्यो। निर्णायक मण्डलका सदस्य कविराज गहतराज र प्रियंका कार्की उनीहरूलाई अझ बढी अन्योल बनाउँदै स्टेजमा घुमिरहेका थिए। सबैजना विजेताको नाम सुन्न हतारिएका थिए।

जब कविराजले कविता विजेता भएको भन्दै नाम उच्चारण गरे उनका आँखाबाट खुसीका आँसु झरे। कविता पछाडि फर्केर भुइँमा थचक्क बसिन्। बोल्न सकिरहेकी थिइनन्। मात्रै खुसीका आँसु बगाइरहिन्। उनको यो खुसीको पललाई दर्शक तथा उपस्थित अतिथिले ताली बजाएर हौसला प्रदान गरिरहेका थिए।

उनका आमाबुवालगायत आफन्त पनि कार्यक्रममा उपस्थित थिए। उनले ट्रफी र २५ लाख नगद पुरस्कारको चेक ग्रहण गरिसकेपछि बुवाआमालाई भेट्न दर्शकदीर्घामा गएकी थिइन्। बुवाआमालाई अँगालो हालेर खुसीका आँसु झारिरहिन्। आकाशतिर हेरेर भन्दै थिइन्, ‘मलाई भोट गरेर यो उपाधि जिताउने दर्शक मेरा लागि भगवान्का रूप हुन्।’

करिब आठ महिना उनले घरपरिवार, साथीसंगी तथा पढाइसमेत छोडेर नृत्यमै लागेकी थिइन्। उनले भनिन्, ‘म यहाँ पुग्छु भनेर सपनामा पनि सोचेकी थिइनँ। आज मेरो फरक सपना पूरा भएको छ।’

डान्सिङ सुपर स्टारको उपाधिसँगै उनलाई अफ्नो यात्रा बल्ल सुरु भयो भन्ने लागेको छ। पुरस्कारमा पाएको रकम के गर्नुहुन्छ भन्ने अन्नपूर्णको प्रश्नमा उनले भनिन्, ‘सिमेन्टका बोरा बोक्दै, ज्यामी काम गर्दै मेरा हरेक चाहना पूरा गर्न निरन्तर खटिरहने मेरा बुवा र आमाको अनुहारमा हाँसो ल्याउनुछ। काम गर्दागर्दा ठेला उठेका हातलाई नरम बनाउनुछ। सानै भए पनि टाउको लुकाउन सक्ने एउटा झुपडी बनाउने सपना छ।’

विजेता बन्दा कस्तो लाग्यो उनी भन्छिन्, ‘म त शब्दविहीन भएँ। केही सोच्नै सकिनँ, के भन्ने, के बोल्नेजस्तो भयो। एकदमै खुसी लागेको छ। रमाइलो लागेको छ।’ अब के गर्ने त रु ‘अगाडि जे आउँछ त्यसैमा खटेर लाग्छु, गर्न लागेको काम अत्यन्त ध्यान दिएर गर्ने बानी छ। नृत्य, मोडलिङ, कोरियोग्राफी र मिडियापर्सन बन्नु मेरो रुचिका विषय हुन्। जेमा अवसर आउँछ त्यही बाटो समाउने योजना छ। ’

उनी भन्छिन्, ‘पहिले त पढाइ पूरा गर्छु। पढाइसँगै काम पनि गरिरहन्छु। यो फिल्डमा आउने नयाँ डान्सरका लागि केही योगदान दिन्छु।’ सर्लाही घर भई हाल ललितपुरमा बस्दै आएकी १८ वर्षीया कविता नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी छन्। एपीवान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उक्त उपाधि चुमेकी हुन्।

बुगीवुगीका प्रोजेक्ट हेड सुरेश पौडेल रहेका थिए भने बुगीवुगीका निर्देशक एलेन श्रेष्ठ थिए। कार्यक्रमको निर्णायकहरूमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए। सहभागीलाई नृत्य निर्देशन गर्ने कोरियोग्राफरमा प्रशान्त तामाङ, रोहिया महर्जन र नरेशवीर ठकुरी रहेका थिए। देशभरबाट सहभागी भएका करिब तीन हजार प्रतिस्पर्धीबाट विभिन्न चरणमा छनोट गर्दै उत्कृष्ट डान्सरको खोजी गरिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्