प्रत्येक प्रदेशमा एउटा संग्रहालय



गोपीकृष्ण ढुंगाना,

काठमाडौं : सरकारले हरेक प्रदेशको विशिष्टता झल्किने गरी सबै प्रदेशमा एक÷एक संग्रहालय निर्माण गर्ने भएको छ । प्रत्येक प्रदेशमा कम्तिमा एक संग्रहालय स्थापना र ऐतिहासिक, पुरातात्विक सम्पदा एवं सामग्री संग्रह गरेर पर्यटक र अनुसन्धाताका लागि महŒवपूर्ण गन्तव्य बनाउने भएको हो ।

सातवटै प्रदेशका संग्रहालयको सञ्जाल बनाएर सरकारले एकअर्काको प्रचार र प्रवद्र्धन गर्ने योजनासमेत बनाएको छ । संग्रहालयका सम्पदा एवं सामग्रीको सुरक्षामा प्रविधि उपयोग गरी संरक्षणसम्बन्धी सूचनापाटी, डिजिटल इन्फर्मेसनयुक्त वृत्तचित्र बनाएर प्रदर्शन गर्नेजस्ता काम पनि गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले सातै प्रदेशमा कम्तिमा एक÷एक संग्रहालय स्थापना र सञ्चालन गर्ने जानकारी दिएका हुन् । उनका अनुसार संग्रहालयमा पर्यटक, विद्यार्थी तथा अन्वेषक/अनसुन्धानकर्तालाई समय बिताउन उत्प्रेरित गर्ने पूर्वाधार निर्माण तथा उपयुक्त गतिविधि सञ्चालन गर्ने वातावरणसमेत मिलाइनेछ । यसपछि सातै प्रदेशका संग्रहालयको क्षमता एवं संग्रह संख्यामा उल्लेख्य वृद्धि गरिनेछ ।

मन्त्रालयले नारायणहिटी दरबार संग्रहालयको गुरुयोजनाअनुरूप प्राचीनकालदेखि गणतन्त्र स्थापनासम्मका सबै विषयवस्तु समेटी संग्रहालय संरक्षण तथा स्तरोन्नती गर्नेछ भने        श्रीपेचको सुरक्षासहित प्रदर्शनी गर्ने तयारी गरेको छ । संग्रहालयका सबै सम्पदाको विस्तृत विवरण अद्यावधिक गर्न डिजिटल डाटाबेस तयार पार्ने तयारी पनि गरिएको छ । वसन्तपुर दरबार क्षेत्र तथा संग्रहालयलाई पनि नारायणहिटीजस्तै आधुनिक प्रविधि र चुस्त व्यवस्थापन गरी संरक्षण तथा प्रवद्र्धन गरिनेछ । यसका लागि वसन्तपुर दरबार क्षेत्र तथा संग्रहालयको पनि विकास गुरुयोजना तयार पारिनेछ । संग्रहालयका सबै सम्पदाको सूचना समेटेर क्याटलग बनाइ वितरण गर्न लागिएको हो ।

काठमाडौं उपत्यकाका पाटन दरबार क्षेत्र तथा संग्रहालय र भक्तपुर दरबार क्षेत्र तथा संग्रहालय पनि स्तरोन्नती गरी व्यवस्थित गरिने भएको छ । उपाध्यायका अनुसार दुवै संग्रहालयको संरक्षण तथा विकास गर्न गुरुयोजना अनुरूप प्राचीनकालदेखि हालसम्मका विषयवस्तु र सम्पदा व्यवस्थित गरिनेछ । ‘संग्रहित सबै सम्पदाको विस्तृत विवरण अद्यावधिक गर्न डिजिटल डाटाबेस तयार गर्ने, सम्पदाको सूचना समेटेर क्याटलग बनाउने र संग्रहालय सञ्चालनको निर्देशिका तथा संयन्त्र तयार पारी दीगो सञ्चालन गर्नेछौं’, उनले थपे । मन्त्रालयले छाउनी संग्रहालय र गोरखा दरबार संग्रहालयमा पनि वसन्तपुर, पाटन र भक्तपुरको जस्तै सबै काम गरी व्यवस्थित बनाउने भएको छ ।

उपत्यका बाहिरका संग्रहालयको पनि सरकारले संरक्षण, विकास र प्रवद्र्धन गर्ने भएको छ । सम्बन्धित क्षेत्रमा अनुभव र विज्ञता हासिल गरेका व्यक्तिको सुझावमा नतिजामुखी तथा योजनासहित कार्यक्रम सञ्चालन गरिने मन्त्रालयकै सहसचिव नीता पोखरेल अर्यालले बताइन् । कीर्तिपुर संग्रहालय सञ्चालनको निर्देशिका तथा संयन्त्र बनाइ सञ्चालन गरिनेछ भने कपिलवस्तु संग्रहालयमा ऐतिहासिक तिलौराकोटलगायत बुद्धसम्बन्धी अन्य क्षेत्रको उत्खनन् तीव्र पारिने भएको छ । पोखरा पर्वतीय संग्रहालय पनि अन्यसरह व्यवस्थित गरिनेछ ।

काठमाडौं वा लुम्बिनीमा थांका संग्रहालय स्थापना गरी संसारको सबैभन्दा ठूलो थांका राखेर सबै प्रकारका थांका संकलन तथा संरक्षण गर्ने योजना सरकारले बनाएको हो । संग्रहालयसँग समन्वय गरी थांका प्रदर्शनी तथा बिक्री वितरण केन्द्रसमेत सञ्चालन गरिनेछ । सरकारले भाषा संग्रहालयको पनि अवधारणा अघि सारेको छ । संग्रहालयमार्फत् आन्तरिक एवं विदेशी पर्यटकको संख्या बढाउने लक्ष्य सरकारले लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्