घाँस काट्न गएकी महिलालाई बाघले लग्यो, खोजीका लागि हात्तीसहितको टोली परिचालन



चितवन । चितवनको भरतपुर महानगरपालिका– २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई सोमाबार बाघले लगेको छ। स्थानीय राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा बिहान साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानिय विकास पाठकले जानकारी दिए।

उनलाई बाघले आक्रमण गरेको देखेपछि अर्का एकजना बेहोस भएकाले उपचारका लागि अस्पताल लगिएको र एकजनाले भागेर ज्यान जोगाएको पाठकले बताए। घटनास्थलनजिक शरीरका विभिन्न अंग फेला परे पनि अवस्था पत्ता लागेको छैन।

बाघले आक्रमण गरेको घटनाको पुष्टि गर्दै चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले हात्तीसहितको वन्यजन्तु प्राविधिज्ञको टोली सो क्षेत्रमा परिचालन गरिएको जानकारी दिए। यो आर्थिक वर्षमा बाघले मान्छेमाथि आक्रमण गरेको पहिलो हो। अघिल्लो वर्ष बाघको आक्रमणबाट तीनजनाको मृत्यु भएको जनाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्