प्रहरीले गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणका जाहेरवाला नूरप्रसाद अधिकारीलाई आइतबार नियन्त्रणमा लिएको छ । उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले सानेपाबाट नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले नूरलाई सानेपाबाट नियन्त्रणमा लिइएको बताए । ‘आमा गंगामायाले छोरो खोजी दिन सरकारसँग माग गरेपछि हामीले नुरलाई बोलाएका हौँ । अब उनलाई आमा जिम्मा लगाएर पठाउने कि हिरासतमा राख्ने भन्ने विषयमा छलफल चल्दै छ,’ उनले भने ।
कृष्ण अधिकारी हत्याका जाहेरवाला नुर चार वर्षदेखि सम्पर्कविहीन थिए । कृष्ण नुरका सहोदर भाइ हुन् । भाइ कृष्णको नियोजित हत्या भएको भन्दै उनले जिल्ला अदालत चितवनमा किटानी जाहेरी हालेका थिए । सोही मुद्दालाई लिएर उनका बाबु नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भएको थियो । नुरले बुझ्न नमानेपछि नन्दप्रसादको शव अहिले पनि महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।
पुनरावेदन हुँदै सर्वोच्च अदालत आइपुगेको उक्त मुद्दाको पक्षमा सर्वोच्चले ६ पुस ०७२ मा घटनाका अभियुक्त मानिएका गोरखा फुजेलका छविलाल पौडेललाई पुर्पक्षका लागि हिरासतमा राख्न आदेश गरेको थियो । सोही आदेशअनुसार पौडेलले केही महिनाअघि मात्रै अदालतमा आत्मसमर्पण गरेका थिए । उनलाई अहिले सदरखोर डिल्लीबजारमा राखिएको छ । क्षतिपूर्तिबापत सरकारले नुरकी आमा गंगामायाको बैंक खातामा एक करोड रुपैयाँसमेत जम्मा गरिसकेको छ ।nayapatrika

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।