सर्पको बिगबिगी,दुई महिनामा ६ को मृत्यु



जीवनाथ दाहाल,

सर्पदंशबाट दुई महिनामा ६ जनाको मृत्यु भइसकेको छ । जिल्लास्थित सर्पदंश उपचार केन्द्रमा औषधि र उपकरण अभावका कारण मृत्युको जोखिम बढेको हो । सर्पले टोकेर कटारी नगरपालिकामा चार तथा बेलका र चौदण्डी नगरपालिकामा एक–एकजनाले ज्यान गुमाएका छन् । सदरमुकाम गाईघाटको भुल्केमा सेनाले सञ्चालन गरेकोसहित चार सर्पदंश उपचार केन्द्र छन् ।

 

सेनाको उपचार केन्द्रमा औषधि पर्याप्त भए पनि अन्य केन्द्रमा अभाव छ ।जेठयता ताराघारी केन्द्रमा सर्पले टोकेको आशंकामा ६५ जना उपचारका लागि आइसकेका छन् । बेल्सोत केन्द्रमा ७६, बेलका नगरपालिकाको उपचार केन्द्रमा ७८ र भुल्केमा ८० जनाले उपचार गराएको ती केन्द्रको तथ्यांक छ ।

गत मंगलबार बिहान घर लिपपोत गर्न गोठमा गोबर लिन गएकी कटारी–२ गिद्धवरकी २३ वर्षीया यशोदा कट्टेललाई सर्पले डस्यो । उनलाई बेल्सोत केन्द्रले सिरहा चोहर्वास्थित सैनिक क्याम्पको उपचार केन्द्र रेफर ग-यो । तर, उनको बाटोमै मृत्यु भयो ।

गत ६ साउनमा कटारी–२ गराँसका १० वर्षीय विपन कार्कीलाई सर्पले टोक्यो । परिवारका सदस्यले बेल्सोत उपचार केन्द्र पु-याए पनि उनको मृत्यु भयो । सर्पदंश उपचारको अवस्था नाजुक देखिए पनि सरकारले गम्भीर रूपमा नलिएको स्थानीयको गुनासो छ । सर्पदंशको जोखिम रहेको क्षेत्रमा कम्तीमा पाँच किलोमिटरभित्र पर्ने गरी पर्याप्त पूर्वाधारसहितको उपचार केन्द्र सञ्चालन गरिनुपर्ने उनीहरूको भनाइ छ ।

 सँगै सुतेका हजुरआमा र नातिको मृत्यु
कटारी नगरपालिका ४ का ५० वर्षीया हजुरआमा टीकामाया बस्नेत र ११ वर्षीय नाति सुमनको गत १९ जेठमा सुतेकै ठाउँमा मृत्यु भयो । उनीहरूलाई सुतिरहेको वेला सर्पले टोकेको थियो । समयमा नै थाहा नपाउँदा उपचार सम्भव भएन ।

छैन पर्याप्त औषधि

ताराघारीस्थित सर्पदंश उपचार केन्द्रमा सेनाले ३० देखि ४० भाइल स्नेक एन्टिभेनम उपलब्ध गराउने गरेको व्यवस्थापन समिति सदस्य अमित श्रेष्ठले बताए । तर, कोही एकजना बिरामीलाई नै पाँचदेखि १० भाइलसम्म प्रयोग हुने हुँदा अपुग हुने गरेको छ ।

कटारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीले अझै आफ्नो शाखा जिल्ला स्वास्थ्य कार्यालयमातहत रहेकाले जिल्ला स्वास्थ्यमार्फत विभाग र केन्द्रमा स्नेक एन्टिभेनम माग गरिएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्