समिक्षा हत्या अभियोगमा बाबु, हजुरआमा र फुपू पुर्पक्षका लागि जेल चलान



बुटवल, २१ साउन । रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया किशोरी समीक्षा ठकुरीको हत्याको अभियोगमा परिवारकै तीन जना पुर्पक्षका लागि थुनामा गएका छन् ।

जिल्ला अदालतका न्यायाधीश शारदाप्रसाद कोइरालाको इजलासले समीक्षाका बाबु तेजबहादुर ठकुरी, हजुरआमा हरिकला माया ठकुरी, समीक्षाका फुपू अमृता भनिने शोभा राना ठकुरीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । अर्की अभियुक्त समीक्षाकै फुपु मधु ठकुरी थापा भने फरार छिन् ।

गएको असार ९ गते आफ्नै घरमा सुतिरहेको अवस्थामा शरीरमा आगलागी भएर गम्भीर घाइते भएकी समीक्षाको असार २० गते उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

समीक्षाको मृत्युपछि इराकमा रहेकी आमा माया ठकुरी नेपाल फर्केर मार्ने उद्देश्यले मट्टितेल छर्केर आगो लगाइदिएको र सोही कारण जलेर मृत्यु भएको दावी सहित परिवारकै सदस्यहरुविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरीका आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरी २५ दिनसम्म म्याद थप गर्दै अनुसन्धान गरेको थियो ।

स्थानीय पीसल्याण्ड भूपू सैनिक पब्लिक बोर्डिङ स्कूलमा १० कक्षा पढ्दै गरेकी समीक्षा गएको ६ महिनायता मात्रै बुबाको घरमा बस्न थालेकी थिइन् । त्यसअघि उनी मावली घरमा बस्दै आएकी थिइन् ।

समीक्षा जन्मेको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि त्यतिबेला देखि नै आमा–छोरी माइतीमा बस्दै आएका थिए ।

समीक्षा बुबाको घरमा बस्न थालेपछि परिवारका सदस्यबाट पटकपटक कुटपिट, दुर्व्यबहार हुनुका साथै सौतेलो भाइले ज्यान मार्ने धम्की दिने गरेको आफन्तले बताएका छन् । समीक्षा घरमै बस्न थालेसँगै अंश दिनु पर्ने डरले परिवारले मिलेर आगो लगाएको किशोरीकी आमा र मावली पक्षले दावी गरेका थिए ।

घटना हुनु एक महिना अघिपनि बुबा, हजुरआमा र फूपुहरु मिलेर घाइते हुने गरी कुटपिट भएपछि समिक्षाले प्रहरीमा उजुरीसमेत दिएकी थिइन् । उक्त घटना स्थानीय प्रहरी चौकी, गाउँपालिकाको न्यायिक समितिसम्म पुगेर छलफल भइ आइन्दा कुटपिट नगर्ने सहमतिमा मिलेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्