रुकुम,२२ साउन । उपचारका क्रममा महिलाको मृत्यु भएपछि पुनः सोमबार साँझ रुकुम (पश्चिम) चौरजहारी अस्पतालमा तोडफोड भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको छ ।
जाजरकोटको भेरी नगरपालिका १३ कि २९ वर्षीय यसोधा मल्ल रोकायको उपचारकै क्रममा आइतबार मृत्यु भएको थियो । अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले आइतवारपनि अस्पतालमा तोडफोड गरेका थिए ।
तोडफोडबाट अस्पताका चार झ्यालका सिसा र फर्निचर क्षतिग्रस्त भएका छन् । विवाद मिलाउन सोमबार दिनभरी भएको छलफल निश्कर्षमा पुग्न नसकेपछि मृतकका आफन्तले साँझ फेरी अस्पतालमा तोडफोड गरेका हुन् ।
वार्ता नमिलेपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड सुरु गरेका थिए । भिड तितरवितर पार्न ९ राउण्ड अश्रुग्यास प्रहार गरिएको प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताए ।
चौरजहारी अस्पतालमा आइतवारदेखि तोडफोड हुन थालेपछि रुकुम, जाजरकोट र सुर्खेतबाट सुरक्षाकर्मी मगाइएको खड्काले जनाए । आइतवारपनि प्रहरीले तीन राउण्ड हवाई फायर र दुई सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।