घरबेटीको बन्दै गरेको घरमा गाडे बालक



भक्तपुर २२ साउँन : अपहरणपछि हत्या गरेका बालकको शव तह लगाउन अपहरणकारीहरुले आफूहरु डेरा बस्दै आएको घरपतिको बन्दै गरेको नयाँ घरलाई चुनेका छन् ।

निशान खड्काको अपहरण गरेका नुवाकोट सामरीका २२ वर्षीय गोपाल तामाङ र कर्थली १ सिन्धुपाल्चोक बस्ने वर्ष २३ का अजय तामाङ मध्यपुर थिमी नपा ७ नगदेशस्थित श्याम लवटको नयाँ घरको हातीपाइला राख्न खनेको खाल्डो निशान खड्कालाई पुरेको अवस्थामा सोमबार प्रहरीले फेला पारेको हो ।

श्यामको नयाँ घर बन्दै गरेको नगदेशकै सिमकचा भन्ने ठाउँ एकान्त छ । चारैतिर खेतीबाली रहेको उक्त ठाउँमा श्यामको मात्रै नयाँ घर बन्दै गरेको थियो ।

 

डीपीसी सकाएर पिलर ठड्याएर पर्खाल लगाउने काम भइरहेको उनको घरमा आइतबारसमेत काम भएको थियो । भर्खर बन्दै गरेकाले जगको हात्तीपाइले राख्न खनिएको खाल्डोसमेत राम्ररी पुरिएको थियो । त्यही ठाउँमा अपहरणकारीहरुले हत्यापछि थप खाल्डो खनेर पुरेको अवस्थामा प्रहरीले निशानको शव निकालेको थियो ।

प्रहरीले खाल्डोबाट निकालिएको निशानको मुखमा कपडा कोचिएको थियो । घाँटीमा निलो गलबन्दी बेरिएको थियो । त्यस्तै घुँडा खुम्च्याएर तिघ्रामा सेतो टेपले बेरिएको अवस्थामा प्रहरीले निशानको शव झिकिएको थियो ।

अपहरणकारीबाटै सूचना

हत्या गरिएका निशानको शव श्यामको बन्दै गरेको घरमा गाडिएको प्रहरीलाई अपहरणकारीहरुले नै सूचना दिएको प्रहरी स्रोत बताउँछ । यद्यपि महानगरीय प्रहरी अपारध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने बालकको हत्या गरेर भाग्दै गरेको अवस्थामा मुठभेट हुँदा दुवैजना मारिएको दाबी गरेका छन् ।

स्रोतका अनुसार अपहरणकारीहरुले दिएकै सूचनाको आधारमा श्यामको बन्दै गरेको घरको जगबाट निशानको शव फेला परेको थियो । प्रहरीले श्यामलाई सोमबार बिहान करिब ९ः३० बजे भेटेर उनको नयाँ घर बन्दै गरेको सिमकचा क्षेत्रम देखाउन भनेको थियो । त्यही आधारमा श्यामले आफ्नो नयाँ घर बन्दै गरेको क्षेत्रमा लगेका थिए ।

सूचना दिएपछि इन्काउन्टर !

बालक हत्यापछि गाडेकोबारे सबै जानकारी दिएपछि प्रहरीले योजनाबद्ध रुपमा अपहरणकारीहरुको इन्काउन्टर गरेको स्रोत बताउँछ । स्रोतका अनुसार आइतबार रातभरिको खोजतलासपछि उनीहरुको लोकेसन पत्ता लगाइसकेको थियो । उनीहरुले प्रयोग गर्ने मोबाइलको लोकेसन ट्रयाकिङको आधारमा उनीहरुलाई सोमबार बिहानै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण लिइसकेपछि निशानको हत्या भइसकेको र शव श्यामको नयाँ बन्दै गरेको घरको जगमा गाडेको सूचना अपहरणकारीहरुले नै दिएको स्रोतको दावी छ ।

तर प्रहरीले भाग्दै गरेकालाई पछ्याउने क्रममा सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित सूर्यविनायक जंगलमा प्रहरीमाथि नै फायरिङ गरेपछि आत्मरक्षाको लागि जवाफी फायरिङ गर्ने क्रममा दुवै अपहरणकारी मारिएको दावी गरेको छ ।

घटनास्थलबाट प्रहरीले प्रहरीमाथि फायरिङ गरेको पेस्तोल र खोकासमेत बरामद भएको दावी गरेको छ । इन्काउन्टरको क्रममा प्रहरीले १८ राउन्ड गोली फायर गरेको जनाएको छ । प्रहरीले भागेका भनिएका गोपालमाथि १९ र अजयमाथि नौ राउन्ड गोली हानेको मुचुल्का उठाएको छ ।

इन्काउन्टर भएको ठाउँ हेर्दा पनि उनीहरु गलत दिशातिर भाग्न खोजेको देखिन्छ । सूर्यविनायक गणेश मन्दिरबाट डोलेश्वर मन्दिर तथा पाइलट बाबा आश्रम जाने बाटोको दक्षिण सूर्यविनायक जंगलमा इन्काउन्टर भएको छ ।

त्यहाँबाट भाग्ने ठाउँ कतै छैन । पानी परेको अवस्थामा त्यहाँबाट सिधै जंगलतिर जान सकिने अवस्था छैन । इन्काउन्टर भएको ठाउँ मानव बस्तीभन्दा केही सय मिटर माथि छ । त्यसको दुई सय मिटर तल सरकारी विद्यालय रहेको छ ।

गोपाल र चमेलीबीच चिनजान

प्रहरीका अनुसार निशानकी आमा चमेली र अपहरणकारी गोपालको राम्रै चिनजान थियो । गोपाल आफ्ना साथी लिएर चमेलीकै खाजा पसलमा खाजा आदि खाने गर्दै आएका थिए ।

सधैंजसो त्यहीँ खाजा खाने भएकाले निशानका बुवा गणेश वैदेशिक रोजगारीको क्रममा मलेसिया रहेको उनीहरुले थाहा पाएपछि मोटो रकम फिरौती माग्ने उद्धेश्यले निशानको अपहरण गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्