खोलाले सधैं सास्ती



दाङ — जिल्लास्थित घोराही–तुलसीपुर खण्डको ग्वारखोलामा आइतबार साँझ बाढीले एउटा बस बगायो । त्यसमा सवार १८ यात्रुको बिचल्ली भयो । दुई गर्भवतीसहित ५ गम्भीर घाइते भए । घाइतेलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि नेपालगन्ज पठाइएको छ ।

धनगढीबाट तुलसीपुर जाँदै गरेको ना४ख ८१३६ नम्बरको बसलाई खोलाले बगाएको हो । समयमै उद्धार भएका कारण क्षति हुन नपाएको इलाका प्रहरी तुलसीपुरले जनाएको छ । पानी पर्‍यो कि बाढी आइहाल्यो । जिल्लामा वर्षाभरि ढुक्कसँग यात्रा गर्न सक्ने अवस्था छैन ।

कतिबेला कहाँ के हुन्छ, भन्नै सकिन्न । सोमबार पनि गुर्जेखोलाको बाढीले यातायात अवरुद्ध भयो । यात्रुलाई खोला किनारमा बसेर घण्टौं कुर्नुपर्ने बाध्यता छ । खोला कम नहुँदासम्म गाडी किनारमै रोकिए । बेलुकापख पानीको बहाव कम भएपछि गाडी चले ।

लमही–घोराही–तुलसीपुर खण्डमा पर्ने खोलाले यात्रा जोखिमपूर्ण र अनिश्चित बनाएका छन् । कतिबेला कुन खोलामा बाढी आएर यातायात अवरुद्ध हुन्छ, थाहै हुँदैन । निर्माणाधीन पुलले झनै सास्ती दिएको छ । पुल निर्माणका क्रममा कजवे भत्काएपछि वर्षाभरि यात्रा कष्टकर भएको हो । खोलामा बाढी आउँदा गम्भीर बिरामी बोकेका एम्बुलेन्स थुनिनुपरेको छ । लमही–तुलसीपुर यात्रा गर्न १० वटा खोला पार गर्नुपर्छ । तीन किलोमिटरको फरकमा रहेका खोलामा कतै पुल छैन । बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुर, पत्रे, संक्राम, ग्वार र कालाखोला यात्राका लागि बाधक बन्ने गरेका छन् ।

चार वर्षअघि ग्वार र कालाखोलाले बगाउँदा तीन जनाको ज्यान गएको थियो । ज्यानै लिनेमध्येका पाँच खोलामा पुल निर्माण थालिए पनि गति निकै सुस्त छ । बबई, कटुवा, गुज्रे, पत्रे र संक्राममा पुल निर्माण थालिएको लामो समय भयो तर ठेकेदार र सडक डिभिजनको लापरबाहीले गति लिन सकेको छैन । ग्वारखोलामा पनि यसै वर्षदेखि पुल निर्माण थालिएको हो । कुनै खोलामा पिल्लर मात्रै उठाइएको छ भने कुनैमा एकातर्फ ढलान गरिएको छ ।

पुल बनाउने नाममा खोलामा खाल्डो खन्ने र सडक बिगार्ने मात्रै काम भएको यात्रुको गुनासो छ । भरपर्दो डाइभर्सन नहुँदा यातायात सञ्चालनमा पटक–पटक अवरोध हुने गरेको छ । खोलामा समयमा पुल निर्माण नभएको र डाइभर्सन पनि भरपर्दो नभएको भन्दै यातायात व्यवसायीले सडक डिभिजन कार्यालयलाई पटक–पटक ध्यानाकर्षण गराएका छन् तर त्यसको सुनुवाइ भएको छैन ।

वर्षाभरि खोला किनारमा गाडी र यात्रुको उद्धार गर्न प्रहरी तैनाथ गर्नुपरेको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले बताइन् । ‘कतिबेला कहाँ बाढी आउँछ, थाहै हुँदैन । खोलामा पुल छैन, बाढीमा गाडी हाल्यो भने बग्ने खतरा हुन्छ । कति गाडी बगेर यात्रु घाइते भएका छन्,’ उनले भनिन्, ‘हामीले सबै खोला किनारमा प्रहरी तैनाथ गरेका छौं । खोला ठूलो आएमा गाडी नचलाउन सचेत पार्ने र केही भइहाले उद्धार गर्ने गरिएको छ ।’ खोलाले यात्रा कष्टकर बनाएको र यसले सबैलाई चिन्तित बनाएको उनले बताइन् ।

जिल्लामा खोला समस्यालाई मध्यनजर गरी विपत् जोखिम न्यूनीकरणको पूर्वतयारीमा ध्यान दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यले बताए । ‘प्रहरी उद्धार सामग्रीसहित तयारी अवस्थामा छन् । स्थानीय तह र अन्य सरोकारवालालाई पनि आवश्यक सहयोगका लागि आहान गरेका छौं,’ उनले भने, ‘पानी बढी परेपछि अग्रिम सतर्कता अपनाएर नागरिकलाई सचेत पार्ने र जोखिम न्यूनीकरणको तयारी गर्ने गरेका छौं ।’ स्थानीय तहले पनि विपत्को समयमा तदारुकता देखाएका छन् ।

आइतबार ग्वारखोलामा गाडी बगेपछि तत्काल तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे घटनास्थल पुगेर आवश्यक सहयोगका लागि पहल गरेका थिए । अस्पताल पुगेर घाइतेको उपचारमा समस्या भए सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

कान्तिपुर, दुर्गालाल केसी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्