महिलालाई आक्रमण गर्ने बाघ नियन्त्रणमा



रत्ननगर, २२ साउन । पश्चिम चितवनमा एक महिलालाई आक्रमण गरी मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।

निकुञ्जबाट आठ हात्तीसहित खटिएको पशु चिकित्सकको टोलीले सोमबार साँझ बाघलाई ‘डाट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए । बाघलाई अहिले निकुञ्जको खोरमा राखिएको छ ।

भरतपुर महानगरपालिका–२५ राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा सोमबार घाँस काट्न गएकी २५ वर्षीया सुशीला डुम्रेलाई बाघले आक्रमण गरेर मारेको थियो ।

उनको शव भएको ठाउँमा बसिरहेको बाघलाई दिनभरको प्रयासमा डाट गरेर बेहोस बनाई नियन्त्रणमा लिइएको ढकालले बताए । अन्दाजी १०–१२ वर्ष उमेरको सोे बाघ आफ्नो क्षेत्र बनाएर बस्न नसकेकाले बाहिर आएको हुन सक्ने निकुञ्जले जनाएको छ ।

यसअघि मान्छेलाई आक्रमण गर्न थालेपछि पूर्वी चितवनबाट नियन्त्रणमा लिएर निकुञ्जको खोरमा राखिएको एउटा बाघ केही दिनअघि घाउको संक्रमणबाट मरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्