एचआइभी संक्रमणको पीडामा ५२ महिला



दैलेख : जिल्लाको दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकम कर्णालीकी धर्मा बुडुलालाई आफ्ना श्रीमान् एचआइभी संक्रमणले बितेको भन्ने कुरा बल्ल थाहा भयो। कामका लागि भारत गएका उनका श्रीमानलाई एचआइभी संक्रमणले सताएपछि उपचारकै क्रममा श्रीमानको मृत्यु भयो। श्रीमानकै कारण आफू पनि एचआइभी संक्रमणमा परेर समस्यामा परेकी उनले छोरा छोरीको लालनपालनमा समस्या भएको बताइन्। ‘

जेठी छोरीको बिहे भएको छ, तर आफूसँग रहेको छोराको लालनपानमा समस्या हुँदै आएको छ’ उनले सुनाइन्। उनले थपिन्, ‘बाख्रापालन र अन्य सजिला व्यवसायमा स्थानीय सरकारले सहयोग गरे जीवन गुजारा गर्न सजिलो हुने थियो।’ स्थानीय स्वास्थ्य केन्द्रबाटै औषधि बडुवाल मात्रै हैनन् एचआइभी संक्रमण भएर श्रीमान गुमाएका करिब ५२ जना महिलाहरू राकम कर्णालीमा छन्। आफ्नो अधिकार प्राप्ति र समाजमा गरिने भेदभावविरुद्ध लड्न महिलाहरू संगठित हुनुपरेको उनीहरू बताउँछन्।

संगठित भएर आवाज उठाउन थालेपछि अहिले एआरटी औषधि राकम कर्णाली स्वास्थ्य केन्द्रबाटै उपलब्ध हुन थालेपछि धेरै सजिलो भएको महिलाहरूले बताएका छन्। औषधिसँगै संक्रमित महिलाहरूलाई पोसिलो आहार र पोषणका लागि मासिक पाँच सय भत्ता स्थानीयस्तरमै रोजगारी र व्यवसाय प्रवर्द्धनलगायत विषयमा स्थानीय सरकारले चासो बढाएको आठबीस नगरपालिका दैलेखका प्रमुख खड्कराज उपाध्यायले जानकारी दिएका छन्। उनले भने, ‘नगरपालिकाले पोषणमा सहयोग पुगोस् भनेर मासिक ५ सयका दरले संक्रमितहरूलाई भत्ता प्रदान गरिरहेको छ।’

संक्रमित भनेर समाजमा हेला हुन थालेपछि एकल महिलाहरू संगठित भएको तुलसा माझीले बताइन्। ५२ जना सवैका श्रीमानहरु भारतमै रोजगारीका लागि गएको र एचआइभी संक्रमणले मृत्यु भएको माझीको भनाइ छ। जिल्लाभर १ सय ८६ जनाले एआरटी सेवामार्फत औषधि सेवन गरिरहेका छन्।

तीन नगरपालिका उच्च जोखिममा सबैभन्दा धेरै जोखिममा रहेका स्थानीय तहमध्ये आठबीस नगरपालिका, नारायण नगरपालिका र दुल्लु नगरपालिका रहेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ। दैलेखको पश्चिम क्षेत्र मात्र हैन जिल्लाका अधिकांश स्थानका मानिसहरू रोजगारीका लागि भारत जानुपर्ने बाध्यता धेरै समयदेखि रहँदै आएको छ। स्थानीय सरकार गठन भएको एक वर्ष पुगेको छ। अब स्थानीय सरकारले गाउँमै रोजगारी र एचआइभी संक्रमितको समस्यामा परेका नागरिकहरूको जीवन सुरक्षाबारे पनि चासो बढाउनुपर्ने स्थानीयको भनाइ छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्