नेपालको १२८ मुलुकसँगको व्यापार घाटामा, सबैभन्दा बढी चीन र भारतसँग



काठमाडौं, २२ साउन । नेपालको वैदेशिक व्यापार घाटा सुधारका लागि विभिन्न प्रयासहरु जारी रहे पनि नेपालको वैदेशिक व्यापार घाटा कम हुन सकेको छैन ।

आयात उच्च र निरासाजनक निर्यातले गत आर्थिक वर्षमा १२८ मुलुकहरूसँगको व्यापारमा नेपाललाई घाटा भएको छ । भन्सार विभागका अनुसार १५५ मुलुकहरूसँग नेपालले आयात र निर्यात व्यापार गरेको थियो । यसमध्ये साढे ८५ प्रतिशत मुलुकहरूबाट नेपालले निर्यातभन्दा बढी आयात गरेको तथ्याङ्क छ । आयातभन्दा निर्यात बढी भएका मुलुकहरू २८ मात्रै छन् । तर, त्यस्तो निर्यात रकम भने निकै सानो अंकमा छ । सबैभन्दा बढी आयात र व्यापार घाटा भारत र चीनसँगको हो । भारतबाट मात्रै ८ खर्ब १० अर्ब ९० करोड ४८ लाख ६१ हजार रुपैयाँको आयात भयो । निर्यात ४६ अर्ब ६० करोड ४९ लाख ५६ हजार मात्रै भएपछि भारतसँगको व्यापार घाटा ७ खर्ब ६४ अर्ब ३० करोड ५ हजार रुपैयाँ पुगेको छ ।

चीनबाट गत वर्ष नेपालमा १ खर्ब ५९ अर्ब ९८ करोड ३ लाख १६ हजार रुपैयाँका सामग्री आयात भए । त्यसतर्फ २ अर्ब ४३ करोड ७७ लाख ४४ हजार रुपैयाँका नेपाली सामग्री निर्यात भए । जसले गर्दा चीनसँगको व्यापार घाटा १ खर्ब ५७ अर्ब ५४ करोड २५ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

१ अर्बभन्दा बढी व्यापार घाटा हुने मुलुकहरूको संख्या ३४ छ । स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रम हुन नसक्नु, उत्पादन भएका सामग्रीहरू निर्यात हुन नसक्नु र आयातित सामग्रीहरूमा परनिर्भरता बढिरहेकाले बर्से्नि व्यापार घाटा चुलिँदै गएको छ । अघिल्लो वर्षको तुलनामा २७ दशमलव ५३ प्रतिशतले व्यापार घाटा वृद्धि भई ११ खर्ब ६२ अर्ब १० करोड ४ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष ९ खर्ब ११ अर्ब २६ करोड ६७ लाख ४ हजार रुपैयाँ मात्रै व्यापार घाटा थियो । आयातमा निरन्तर वृद्धि र निर्यातमा निरन्तर ओरालोका कारण घाटा बढ्दै छ । गत वर्ष पनि आयातको तुलनामा निर्यात वृद्धि निकै न्यून रहयो । नेपालबाट सबैभन्दा बढी निर्यात भएको सामग्री कफी हो । ९ अर्ब २० करोडको कफी निर्यात भएको छ । त्यसपछि क्रमशः ८ अर्ब ४३ करोडको तयारी धागो, ७ अर्ब ३८ करोडको कार्पेट, ६ अर्ब २८ करोडको तयारी कपडा र ५ अर्ब १६ करोडको फलाम तथा स्टिल निर्यात भएको छ । यी प्रमुख पाँच सामग्री बाहेक अन्यको निर्यात रकम नगन्य छ ।

विभागका अनुसार २६ दशमलव ३१ प्रतिशतले आयात वृद्धि भएको छ भने निर्यात ११ दशमलव १७ प्रतिशतले वृद्धि हो । यो तथ्यांकअनुसार सरकारको निर्यात वृद्धिको प्रयासले सार्थकता पाउन सकेको छैन भने मुलुक आयातमा निर्भर रहेको देखिन्छ । गत वर्ष सबैभन्दा बढी १ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँको इन्धन आयात भएको छ ।

दोस्रो बढी आयात हुने सामग्रीमा फलाम तथा स्टिल हो ।
जसमा नेपालले १ खर्ब ८५ अर्ब ८८ करोड रुपैयाँ रकम बिदेसियो । १ खर्ब २४ अर्ब रुपैयाँका मेशिनरी उपकरणका पाटपूर्जाहरू आयात भए । ८६ अर्ब ३० करोड रुपैयाँ बराबरका सवारी साधन आयात भएका छन् ।

७८ अर्ब २८ करोड रुपैयाँका टेलिभिजन, साउन्ड रेकर्डर्स तथा अन्य विद्युतीय सामग्रीहरू आयात भएका छन् । गत वर्ष सरकारले ३ खर्ब १० अर्ब २८ करोड २४ लाख रुपैयाँ आयातित सामग्रीहरूबाट राजस्व संकलन गरेको छ ।

८१ अर्ब १९ लाख १६ हजार ५२ करोड रुपैयाँ निर्यात भएका सामग्रीहरूबाट राजस्व संकलन भएको विभागले जनाएको छ । गत वर्षको व्यापार घाटाअनुसार सरकारले निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापनका लागि गरेको कार्यक्रम बिफल हुँदै गएको देखिन्छ । सरकारले व्यापार घाटा कम गर्न समय–समयमा थुप्रै नीतिगत प्रयास गरे पनि उपलब्धी भने हासिल हुन सकेको छैन ।

सरकारले हरेक वर्ष आयात प्रतिस्थापनका कार्यक्रमहरू सार्वजनिक गर्ने गरेको छ । यस वर्षको बजेटमा पनि निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनका लागि थुप्रै सुधारका योजनाहरू अघि सारिएको छ ।

मुलुकको निर्यात सम्भावना भएका उत्कृष्ट वस्तुहरूको सूची तयार पारी निर्यात र प्रवद्र्धनात्मक कार्यक्रम समेत भइरहेका छन् । हालसम्म तुलनात्मक लाभका १२ सहित निर्यात सम्भावनाका नेपाली सामग्री २४ वटा छन् । तर, तथ्याङ्कअनुसार तुलनात्मक लाभका वस्तुको निर्यातको अवस्था समेत सन्तोषजनक छैन ।नया पेज

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्