प्रदेश नम्बर ७ मा तीन हजार ८ सय ४६ जनप्रतिनिधि निर्वाचित



असार,३०

गत असार १४ गते भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनबाट प्रदेश नम्बर ७ मा तीन हजार ८ सय ४६ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । नौ वटै जिल्लामा रहेको ८८ वटा स्थानीय तहका लागि सो सङ्ख्यामा जनप्रतिनिधि निर्वाचित भएका क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले जनाएको छ । निर्वाचित सबै जनप्रतिनिधिले पद्भार ग्रहण गरेर स्थानीय तहको जिम्मेवारी सम्हालिसकेका जनाइएको छ । असार १४ गतेको निर्वाचनबाट १३ स्थानीय तह रहेको कैलालीमा सबैभन्दा बढी ६ सय ५६ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । यसैगरी, १२ स्थानीय तह रहेको बझाङमा ४ सय ९४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । १० स्थानीय तह रहेको अछाममा ४ सय ७५, नौ स्थानीय तह रहेको डोटीमा ३ सय ४३, नौ स्थानीय तह रहेको बाजुरामा ३ सय ६३, १० स्थानीय तह रहेको बैतडीमा ४ सय ४० जना जनप्रतिनिधि निर्वाचित भएका क्षेत्रीय निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यसैगरी, नौ स्थानीय तह रहेको कञ्चनपुरमा ४ सय ७८, नौ स्थानीय तह रहेको दार्चुलामा ३ सय २३ र सबैभन्दा कम सात स्थानीय तह रहेको डडेल्धुरामा २ सय ७४ जना प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन भएको १५ दिनभित्रै आदिवासी जनजाति र दलित समुदायबाट सदस्य थप्नेक्रम पनि जारी रहेको छ । ८८ वटै स्थानीय तहमा थप २ सय १० प्रतिनिधि थपिएर जम्मा निर्वाचित हुने प्रतिनिधि सङ्ख्या चार हजार ५६ जना पुग्ने क्षेत्रीय निर्वाचन कार्यालयका शाखा अधिकृत प्रेमराज भट्टले जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्