१५औँ अनशनका क्रममा सरकारसँग भएको सहमति यथाशीघ्र कार्यान्वयन गर्न डा. गोविन्द केसीले माग गरेका छन् । मंगलबार त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. केसीले आफूसँग भएका सहमति मन्त्रिपरिषद्मा लैजान आलटाल गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
अनशन र त्यसपछि पनि उपचारका क्रममा बिरामीको सेवा गर्न नपाएको प्रति पत्रकारसम्मेलनमा डा. केसी भावुक बनेका थिए । डा. केसीले यो अवधिका बिरामीको उपचार गर्न नसकेकोमा क्षमा मागेका छन् ।
‘यो अनशन मेरा निम्ति बाध्यता थियो,’ उनले भने, ‘यस अवधिभर बिरामीको सेवा गर्न नपाएकोमा क्षमा चाहन्छु ।’ सहमतिपत्रको आठौँ बँुदामा आफूसँग भएको सहमति मन्त्रिपरिषद्बाट पास गर्ने उल्लेख गरिएकोमा सो कार्य नभएको भन्दै उनले सरकारलाई स्मरण गराएका छन् ।
आफूसँग सहमति भएअनुसार नै सरकार र विपक्षी दलले चिकित्सा शिक्षा विधेयकमाथि संशोधन हालेकोमा उनले त्यसको स्वागत गरेका छन् । साथै, थप तोडमोड नगरी चिकित्सा शिक्षा ऐन आउने अपेक्षा उनको छ । उनले भने, ‘हामीसँग भएको सहमतिअनुसार नै ऐन आउनेमा विश्वस्त छौँ । त्यसो नभई छलछाम गरिएमा कडा आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुनेछौँ ।’नया पत्रिका

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।