वन्यजन्तुको काल बन्दै राजमार्ग



कोहलपुर- बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई राजमार्ग क्षेत्र जोखिम बन्दै गएको छ। राजमार्गमा आवतजावत गर्ने सवारीसाधनको ठक्करबाट वन्यजन्तु घाइते र मर्ने क्रम बढिरहेको छ।

आर्थिक वर्ष २०७४/०७५ मा सवारी साधनको ठक्करबाट मात्रै ७२ वटा वन्यजन्तु मरेका छन्। कुकुरको आक्रमणबाट ४ र अन्य कारणले ६ गरी गत आर्थिक वर्षमा ८२ वन्यजन्तु मरेका छन्। सबैभन्दा बढी बँदेल र चित्तल मरेको निकुञ्ज कार्यालयले जनाएको छ।

सवारी साधनको ठक्करबाट सुनगोहोरो ३, कालो गोहोरो ३, वन बिरालो ३, बँदेल ११, चित्तल १२, स्याल १, रातो बाँदर ४, निर बिरालो २, चितुवा ४, अजिंगर ३, ब्वाँसो ८, चरी बाघ ३, नील गाई १, दुम्सी ३ वटा मरेका छन्। त्यस्तै कालो ओत २, चिल २, मल साप्रो १, चौका २, गाजले निर बिरालो १, न्याउरी मुसा १, लिंक्स १ र मगर गोही १ मरेको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले जानकारी दिए। उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा सडक दुर्घटनामा परी ५३, २०७२/७३ मा ४३ र २०७१/०७२ मा २६ वन्यजन्तु मरेका थिए। आर्थिक वर्ष २०७४/०७४ मा चित्तल, अजिंगर, नीलगाई, बँदेललगायत गरी ३७ वन्यजन्तुको उद्धार गरिएको छ।

पूर्वी सीमाना शिवखोला, पश्चिम कोहलपुर–सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग छ। राजमार्गले घेरिएका कारण पनि निकुञ्जका वन्यजन्तुलाई राजमार्ग क्षेत्र जोखिम बनेको हो। निकुञ्ज क्षेत्रमा ७२ किलोमिटर पूर्वपश्चिम राजमार्ग र ३२ किलोमिटर रत्न राजमार्ग पर्छ। तीव्र गतिमा आउने सवारीसाधनको ठक्करबाट वन्यजन्तु घाइते र मर्ने गरेका छन्।

बाँके निकुञ्ज सुक्खा निकुञ्ज भएकाले पनि पानीका लागि वन्यजन्तु सडक वारपार गरिरहन्छन्। दुर्घटनाको अवस्था हेर्दा सुक्खा मौसममा अझ बढी वन्यजन्तु दुर्घटनामा पर्ने गरेको सहायक संरक्षण अधिकृत चौधरी बताउँछन्। पानी नहुँदा निकुञ्जबाट जनावरहरू बाहिर निस्कने भएकाले मानवीय क्षति हुने तथा मानिसले प्रतिकार गर्दा जनावर मारिने घटना पनि हुने गरेको निकुञ्जले जनाएको छ।

पौडी नखेल्ने जनावरलाई पनि पिउने पानी पर्याप्त मात्रामा चाहिन्छ। वन्यजन्तु पानीका लागि राप्ती नदी पुग्ने क्रममा सडक दुर्घटनामा पर्ने गरेका छन्।

समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण उपसमिति (सिबिएपियू) बाँके सञ्जाल अध्यक्ष कृष्णलाल चौधरीले वन्यजन्तुका लागि सहज आवतजावतका लागि वैकल्पिक मार्ग बनाउनुपर्ने बताए। ‘वन्यजन्तु वारपार गर्नका लागि राजमार्गमा अण्डर पास र ओभर पासको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘अन्य मुलुकमा यस किसिमका अभ्यासहरु भएका छन्।’

नेपालमा यस किसिमका अभ्यासले खासै प्राथमिकता पाएको छैन्। यस विषयमा नीतिगत तहमा बेला–बेलामा छलफल भने हुने गरेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन बताउँछन्। ‘वैकल्पिक मार्गको आवश्यकता भने हो,’ उनले भने, ‘यसले वन्यजन्तु संरक्षणमा ठूलो महत्व राख्छ।’

बाँके राष्ट्रिय निकुञ्जले दुर्घटनाबाट वन्यजन्तु जोगाउन टाइम कार्ड पनि लागू गरेको थियो। तर, बीचमा रोकिन सक्ने ठाउँ (बजार) धेरै भएकाले त्यो प्रभावकारी नभएको प्रमुख संरक्षण अधिकृत पुर्जापुन बताउँछन्। निकुञ्ज अन्तर्गत पर्ने सडकका गतिविधिमा निगरानी गर्न सिसिटिभी क्यामेरा राखिएको छ। ‘वन्यजन्तु र गाडी चालकले सहजरूपमा देख्न सकोस् भनेर राजमार्ग छेउछाउका झाडीहरू सफाइ गरेका छौं,’ उनले भने, ‘साथै गाडी चालकलाई सुस्त गतिमा गाडी चलाउन र फोहर नगर्न सचेत गराउने गरेका छौं।’

केशव राना ,नागरीक

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्