दिल्लीबाट उद्धार गरिएका बाँकी १६ महिला पनि ल्याइए



काठमाण्डौ।भारतको नयाँदिल्लीबाट उद्धार गरिएका ६८ नेपाली महिलामध्ये स्वदेश ल्याउन बाँकी १६ लाई बुधबार नेपालगन्ज ल्याइएको छ । उनीहरू अवैध रूपमा खाडी मुलुक जाने तयारीमा थिए ।नेपाली राजदूतावासको समन्वयमा दिल्ली महिला आयोग, दिल्ली र बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेसनले ती महिलाको उद्धार गरेको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले बताए । उद्धार गरी ल्याइएकामध्ये पाँच महिला साबिकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका छन् ।

उनीहरूलाई नेपालगन्ज र अन्य जिल्लाका महिलालाई माइती नेपालको नजिकको कार्यालयमा पठाएको कोइरालाले बताए । उनले दाङ, बाँके, दैलेख, पाल्पा, नवलपरासी, रुपन्देही, मोरङ, झापालगायत जिल्लाका महिला उद्धार भएको बताए । ‘उद्धार गरी दिल्लीबाट ल्याइएका महिलालाई परिवारको जिम्मा लगाउने तयारी भएको छ,’ उनले भने ।

स्वेच्छाले खाडी जान लागेको बयान
भारतबाट ल्याइएका महिलाले आफूहरू स्वेच्छिक रूपमा भारत हुँदै खाडी मुलुक जान लागेको माइती नेपालसमक्ष बयान दिएका छन् ।

उनीहरूले नेपालबाट घरेलु कामदारका रूपमा खाडी मुलुक जान सरकारले प्रतिबन्ध लगाएपछि आफूहरू भारत भएर खाडी मुलुक जान बाध्य भएको प्रतिक्रिया दिएका छन् । कोइरालाले महिलाले नबुझेर स्वेच्छिक रूपमा भारतको बाटो भएर खाडी मुलुक जान लागेको बयान दिएको बताए ।

केही दिनअघि दिल्ली महिला आयोगको सक्रियतामा दिल्लीबाट ७३ नेपाली महिलाको उद्धार गरी नेपाल ल्याइएको छ ।

पाँच महिलालाई परिवारको जिम्मा
भारतको दिल्लीबाट उद्धार गरिएका १६ जनामध्ये पाँचजनालाई परिवारको जिम्मा लगाइएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए । उनले परामर्श र पारिवारिक पुनर्मिलनका लागि उद्धार गरी नेपाल ल्याइएका महिलालाई बुधबार आफन्तको जिम्मा लगाइएको बताए ।

‘भारतको दिल्लीबाट उद्धार गरी माइती नेपालले ल्याएका महिलालाई परिवारको जिम्मा लगाएर पठाएका छौँ,’ उनले भने । उनीहरूलाई परामर्श गरी परिवारको जिम्मा लगाउने निर्देशनअनुसार जिम्मा लगाएको एसपी तामाङले जानकारी दिए ।नया पत्रिका,विश्वराज पछल्डङ्ग्या

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्