प्रदेश ५ को प्रदेश प्रमुखलाई आयो यस्तो आग्रह



भैरहवा साउन २४ – प्रदेश ५ को मन्त्रपरिषद् बैठकले प्रदेशसभाको दोस्रो अधिवेशन आज अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको छ। बुधबारको बैठकले यस्तो निर्णय गरेको हो। संसदको दोस्रो अविधेशन बैसाख ३१ गते आह्वान भएको थियो।

त्यसैगरी दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गाउँपालिकाले गरेको र सिफारिसका लागि अनुरोध भई आएकोले संघीय सरकारलाई केन्द्र परिवर्तनको लागि सिफारिस गर्ने निर्णय गरेको छ। शान्तिनगरको केन्द्र चिराघाटबाट जुम्लेकुलामा सार्ने निर्णय भएको छ।

तीन समिति निर्माण
यसैगरी मन्त्रिपरिषद्को कामलाई सहज बनाउन सरकारले ३ वटा मन्त्रीस्तरीय समिति बनाएको छ। राजनीतिक समिति, प्रशासन तथा विधेयक समिति र आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन भएको प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए।

राजनीतिक समितिमा मुख्यमन्त्री संयोजक र मन्त्रीहरु सदस्य रहने व्यवस्था गरिएको छ। प्रशासन तथा विधेयक समितिमा संयोजक आन्तरिक मामिला मन्त्री र सदस्यहरुमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, भौतिक पूर्वाधार विकास, सामाजिक विकास मन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहनेछन्।

त्यसैगरी आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा भौतिक पूर्वाधार मन्त्री संयोजक र सदस्यहरुमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, सामाजिक विकासमन्त्री र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रहने मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

बैठकले प्रदेश योजना आयोग गठन तथा कार्यसञ्चालन कार्यविधि २०७४ को पहिलो संशोधन गर्दै एक महिला सहित चार सदस्य रहने व्यवस्था स्विकृत गरेको छ। यस अघिको कार्यविधिमा एक महिलासहित दुई सदस्य रहने व्यवस्था थियो। प्रादेशिक योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ नियुक्त भइसकेका छन् । त्यसैगरी, प्रदेश योजना आयोगको सदस्यमा यस अघि ४० वर्ष पुगेको हुनुपर्नेमा संशोधन गर्दै ३५ वर्ष उमेर कायम गरिएको छ।

दीपक घिमिरे/ नेपाल लाइभ

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्