दक्षिणपन्थी विकल्प आउन नदिन सतर्क हुनुपर्छ -डा. बाबुराम भट्टराई



काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विश्वमा झैँ नेपालमा पनि दक्षिणपन्थी शक्ति ‘नयाँ विकल्प’ बन्न खोजेकाले सतर्क हुनुपर्ने अवस्था आएको बताएका छन्

। दुई हप्ता लामो युरोपको प्राज्ञिक भ्रमणबाट फर्किएका डा. भट्टराईले वैकल्पिक राजनीतिको कुरा गर्दा दक्षिणपन्थीहरू विश्वव्यापी रुपमा अगाडि आइरहेकाले सजक हुनुपर्ने बताएका हुन्।

उनी पत्नी एवं नेतृ हिसिला यमीसहित साउन ६ गते युरोप यात्रामा गएका थिए। उनीहरू बुधबार साँझ नेपाल फर्किएका छन्। भ्रमणबाट फर्किएपछि उनले भने, ‘वैकल्पिक राजनीतिको कुरा गर्दा विकल्पमा दक्षिणपन्थी प्रकारका शक्तिहरू अगाडि आउने खतरा पनि देखियो, त्यसमा सतर्क हुनुपर्ने महसुस भयो।’ डा. भट्टराईको भनाइ थियो, ‘अहिले विश्वव्यापी रुपमा नै पुराना राजनीतिक विचार, शक्तिहरूबाट जनतामा वितृष्णा पैदा भएको हामीले पाउँछौं।

युरोपका कतिपय देशहरूमा पनि नयाँ नयाँ शक्तिहरूको उदय हुँदै गएको र पुराना विचार, पुराना पार्टीहरूबाट देशका समस्या हल हुन नसकेको हामीले देख्यौँ।

थुप्रै देशहरूमा वैकल्पिक राजनीतिक शक्तिहरूको उदय हुँदै गइरहेको हामीले पायौँ।’ फ्रान्सको उदाहरण दिँदै उनले भने, ‘खासगरी फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले छोटै समयमा विजय हासिल गर्नुभयो र उहाँका पार्टीका सांसदहरूसँग हामीले कुरा गर्दा उनीहरूले आफ्नै ढंगले नयाँ विचार अघि ल्याउन खोजेको हामीले पायौं।

जर्मनीमा अलिकति दक्षिणपन्थी प्रकारका शक्तिहरूको उदय हुन लागेको अवस्थामा फेरि एकचोटि लोकतान्त्रिक प्रगतिशील शक्तिहरूले वैकल्पिक धार सिर्जना गर्नुपर्छ भन्ने खालको बहस सुरु गरेको हामीले देख्यौँ।  इटलीमा पनि वैकल्पिक राजनीतिक धारबारे बहस भएको हामीले देख्यौँ।’

उनको भनाइ थियो, ‘यस हिसाबले अहिले २१औँ शताब्दीको सुरुमा हिजोको शितयुद्धकालीन बजारमुखी उदारवादी पुँजीवाद र राज्यनियन्त्रित समाजवादका जुन दुईवटा धार थिए ती शक्तिहरूको विकल्पमा क्रमशः जनताले प्रगतिशील लोकतान्त्रिक तेस्रो धार खोजेको हामीले देख्यौँ।

त्यसैले नेपालमा पनि हामीले वैकल्पिक राजनीतिका कुरा गरिराखेका छौँ त्यसको सान्दर्भिकता थप बढेको हामीले महसुस गर्‍यौँ।’ वैकल्पिक राजनीतिको कुरा गर्दा विशेष ध्यान दिनुपर्ने पक्षबारे डा. भट्टराईको भनाइ थियो, ‘पुराना राजनीतिक शक्तिहरूको विकल्प दिँदा खालि सतही ढंगले रुप पक्षमा मात्रै केन्द्रित भएर विकल्पका कुरा गर्‍यौँ भने चाहिँ दक्षिणपन्थी प्रकारका विकल्पहरू अगाडि आउने खतरा पनि देखियो।

त्यो इटलीमा पनि देखियो, जर्मनीमा पनि त्यस्तो देखिन्छ र अरु केही देशमा पनि अलि दक्षिणपन्थी प्रकृतिका शक्ति अगाडि आउन खोजेको भान हुन्छ।

त्यसैले यो पक्षमा पनि सतर्क हुँदै हामीले दक्षिणपन्थी यथास्थितिवादी विकल्प जसले खालि रुप पक्षलाई मात्रै जोड दिन्छ, विचार, राजनीति र कार्यक्रमिक पक्षलाई, संरचनात्मक परिवर्तनका पक्षलाई ध्यान दिँदैन त्यसबाट चाहिँ सतर्क हुनुपर्ने हामीलाई अनुभूति भयो।’

उनले उन्नत प्रकारको लोकतन्त्र, समावेशी लोकतन्त्र र समावेशी विकासलाई केन्द्रमा राखेर अग्रगामी, प्रगतिशील लोकतान्त्रिक प्रकृतिको विकल्प निर्माण गर्नमा ध्यान दिनुपर्न अवस्था देखा परेको बताए। उनले युरोप यात्रामा भएका अनुभूति बारे वर्णन गरेका थिए।thahakhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्