निशान अपहरणकारीमाथि भएको इन्काउन्टर ‘फेक’ होइन – प्रहरी



प्रहरीले काठमाडौंको काँडाघारीमा भएको अपहरणकारी इन्काउन्टर ‘फेक’ नभएको प्रष्ट पारेको छ।

घटनालाई लिएर आलोचना हुँदै गएपछि प्रहरी प्रधान कार्यालयले निशान खड्कालाई अपहरण गर्ने अजय तामाङ र गोपाल तामाङको इन्काउन्टर ‘फेक’ नभएको प्रष्ट पारेको हो।

घटनाबारे प्रहरीका उच्च अधिकारीले गृहमन्त्री रामबहादुर थापालाई यस विषयमा जानकारी गराउँदै इन्काउन्टर ‘फेक’ नभएको बताएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

‘प्रहरीमाथि आइलागेपछि प्रहरी जाइलागेको हो,’ गृह मन्त्रालयका एक अधिकारीले भने।

गृहमन्त्री थापा इन्काउन्टर हुँदा ताका इन्डोनेसियामा थिए। उनी हिजो राति काठमाडौं आइपुगेका हुन्।

घटनाबारे आइजिपी सर्वेन्द्र खनालले पनि गृहमन्त्री थापालाई भेटेरै घटनाबारे जानकारी गराउने बताएका छन्।

खनाल हाल उपत्यकाबाहिर छन्। गृहमन्त्री थापाले निशान खड्काको अपहरणमा संलग्न दुई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका छन्।

बिहिबार राज्यव्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले निशानका अपहरणकारीमाथि भएको इन्काउण्टरबारे अनुसन्धान गर्ने बताएका हुन्।

‘विशेष गरेर यो इन्काउन्टरको बारेमा सरकारको आधिकारिक धारणा बाहिर आइसकेको छैन, यो बारेका छानबिन गरेर स्पष्ट गर्ने छौं,’ गृहमन्त्रीले भने।

समिति सदस्य देवेन्द्र कँडेलले प्रहरीले भनेको इन्काउण्टर शंकास्पद भएकाले इन्काउण्टरको अवस्था सृजना हुनुको कारणबारे सोधपुछ गर्न महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरे।

गएको सोमबार प्रहरीको इन्काउन्टरमा परी सिन्धुपाल्चोकका २२ वर्षीय गोपाल तामाङ र नुवाकोटका २३ वर्षीय अजय तामाङको मृत्यु भएको थियो।setopati

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्