५.९ म्याग्नेच्युडको पराकम्पन, ज्यान गुमाउनेको संख्या १६४ पुग्यो



इन्डोनेसियाको लोम्बोक द्वीपमा शक्तिशाली भूकम्प गएको चार दिनपछि ५.९ म्याग्नेच्युडको पराकम्पनको महसुस गरिएको छ। उक्त पराकम्पले भूकम्पबाट बचेका केही घरहरू पनि ध्वस्त पारिदिएको बताइएको छ। गत आइतबार लोम्बाक द्वीपमा ६.९ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो र उक्त भूकम्पमा परी १६४ व्यक्तिले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। उद्धारकर्ताहरू भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगतै यो संख्या बढेर १६४ पुगेको सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

तर स्थानीय सञ्चार माध्यमले भने मृत्यु हुनेको संख्या ३४७ भन्दामाथि पुगेको उल्लेख गरेका छन्। भूकम्प गएको चार दिनपछि पनि भूकम्पले अति प्रभाव पारेको क्षेत्रमा उद्धार प्रयास हुन नसकेको बताइएको छ। यसकारण त्यस क्षेत्रबाट जीवित व्यक्तिको उद्धारको आशा पनि कम भएको जनाइएको छ।

भूकम्पको कारण विस्थापित भएका केही व्यक्तिले अझै सहयोग नपाएको गुनासो पनि गरेका छन्। विशेषगरी उत्तर र पश्चिम लोम्बोकका भूकम्प पीडितलाई सहयोग पुर्‍याउन नसकिएको राष्ट्रिय प्रकोप निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले गरेको ट्वीटमा बिहीबार जानकारी दिइएको छ।

यस भूकम्पमा परी १६४ व्यक्तिको मृत्यु भएको पुष्टि भएको नुग्रोहोले एएफपी समाचार समितिलाई बताएका छन्। साथै यस भूकम्पमा परी करिब एक हजार ४०० व्यक्ति गम्भीर घाइते भएका र एक लाख ५६ हजार विस्थापित भएका पनि नुग्होरोले थप जानकारी दिए। भूकम्पका कारण घरबास गुमाएका व्यक्तिहरूलाई शिविर बनाएर राखिएको छ। ती व्यक्तिहरू स्थानीय शरणार्थीस्थलमा बसोबास गर्न बाध्य भएका र यी भूकम्पपीडितलाई खाद्य पदार्थ, औषधि र सफा खानेपानीलगायत सुत्ने स्थानको समेत कमी भएको अधिकारीहरूले जानकारी दिएका छन्।

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६.९ म्याग्नीच्युडको भूकम्प गएको हो। त्यसमा परी हालसम्म भएका क्षतिको विवरण आइरहेको छ। यस भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करीव १५ किलोमिटर गहिरो रहेको बताइएको छ।

इन्डोनेसियाको मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको भने खतरा नरहेको जनाएको छ। इन्डोनेसियामा यसै क्षेत्रमा गत साता आएको ६.४ म्याग्नीच्यूडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको थियो। सन् २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो। जसका कारण एक दर्जन तटीय क्षेत्रका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्