प्रदेश ५ को राजधानी र नाम सिफारिस गर्न समिति गठन



१५ सदस्यीय समितिमा नेकपाका आठ, कांग्रेसका चार र अन्य दलका तीन सांसद

प्रदेश ५ को नाम र स्थायी राजधानी रहने स्थान सिफारिस गर्न विशेष समिति गठन भएको छ । प्रदेश सभाको बिहीबारको बैठकले दलीय प्रतिनिधित्व हुने गरी १५ सदस्यीय विशेष समिति गठन गरेको हो ।

सभामुख पूर्णबहादुर घर्तीले १५ सदस्यीय समितिमा नेकपाका ८, कांग्रेसका ४, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा र राजपाबाट एक–एक सांसद रहने गरी मनोनयन गरेका हुन् । समितिमा धेरै सांसद अर्घाखाँचीका रहेका छन् ।

अर्घाखाँचीका ३, रुपन्देहीका २, कपिलवस्तुका २, बर्दियाका २, पाल्पाका २ सांसद छन् । त्यस्तै, दाङ, रोल्पा, गुल्मी र प्युठानबाट एक–एक सांसद मनोनयन भएका छन् । यस प्रदेशमा १२ वटा जिल्ला रहेका छन् । प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, फोरमका ५ र राजमो र राजपाका एक–एक सांसद छन् ।

नाममा नरम, राजधानीमा विवाद
प्रदेश ५ को नामाकरण गर्ने विषयमा सांसदह नरम देखिएका छन् । शान्तिका अग्रदूत गौतम बुद्ध वा उनको जन्मस्थल लुम्बिनीसँग जोडिने गरी नाम राख्न सहमति जुट्ने सांसदको भनाइ छ । तर, स्थायी राजधानी तोक्ने विषयमा सहमति जुटाउन कठिन रहेको सांसदको भनाइ छ । स्थायी राजधानी बुटवल वा दाङमा राख्ने भन्नेमा सांसदहरू धेरै विभाजित छन् । कतिपयले बुटवल र दाङको विवाद चर्किएमा कपिलवस्तुमा राजधानी तोकिनुपर्नेसमेत आवाज उठाउने गरेका छन् ।

समितिमा बुटवललाई राजधानी बनाउन लबिङ गर्ने सांसदहरूको संख्या धेरै छ । संविधानको धारा २८८ मा भएको व्यवस्थाअनुसार प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेश सभाले निर्णय गरेबमोजिम हुने व्यवस्था छ । प्रदेशको नामाकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनका लागि प्रदेश सभा नियमावली २०७४(संशोधन सहित)को नियम १५२ मा व्यवस्था भएअनुसार समिति बनाइएको हो ।

प्रदेश ५ को नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिले तीन महिनाभित्र नाम र स्थायी राजधानी सिफारिससहितको प्रतिवेदन पेस गर्नुपर्ने समय दिइएको छ ।

सदस्यहरूलाई समितिबाहिर नबोल्न सुझाब
मुख्यमन्त्री शंकर पोखरेलले संसद् बैठकमा बोल्दै समितिको प्रतिवेदन प्रदेशका जनतालाई जोड्ने खालको हुनुपर्ने बताए । उनले सबैलाई सहजता र स्वीकार्य हुने गरी साझा निष्कर्षमा पुग्न समितिका सदस्यहरूलाई सुझाब दिए । उनले भने, ‘आग्रहबाट मुक्त हुनुहोस्, मापदण्ड तय गरेर छलफल गर्नुहोस् र आफू कहाँको हुँ भन्ने बिर्सेर साझा धारणा बनाउँदा पूर्ण रूपमा सफल भइन्छ ।’

मुख्यमन्त्री पोखरेलले समितिका सदस्यहरूलाई प्रतिवेदन नबुझाउँदासम्म धेरै नबोल्न सुझाब दिए । उनले धेरै कुरा सुन्न र बोल्नै पर्ने भए समितिको बैठकमा मात्र बोल्न सुझाब दिए ।

विशेषाधिकार समितिमा सदस्य मनोनयन
बिहीबारको संसद् बैठकमा सभामुख घर्तीले विशेषाधिकार समितिमा सदस्यहरू मनोनयन गरेका छन् । यस समितिमा ११ जना रहेका छन् ।

प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य
प्रदेश ५ को दोस्रो अधिवेशन बिहीबार अन्त्य भएको छ । प्रदेश सभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले बिहीबार राति १२ बजेबाट प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख उमाकान्त झाको पत्र पढेर सुनाएका थिए ।

समितिमा बुटवल पक्षका धेरै
समितिमा सबैभन्दा बढी अर्घाखाँचीका तीन सांसद छन् । समितिमा रहेका कल्पना पाण्डे, चेतनारायण आचार्य र निर्मला क्षेत्री अर्घाखाँचीका सांसद हुन् । पाल्पाबाट नारायणप्रसाद आचार्य र वीरबहादुर राना छन् । गुल्मीबाट दिनेश पन्थी, कपिलवस्तुबाट विष्णुप्रसाद पन्थी र सहरराम यादव छन् । रुपन्देहीबाट तुलसीप्रसाद चौधरी र रमा अर्याल छन् । प्युठानबाट तारा जिसी, बर्दियाबाट दीपेश थारू र भुवनेश्वर चौधरी छन् । दाङबाट सरस्वती गौतम छिन् ।

 

विष्णु घिमिरे, नया पत्रिका

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्