काठमाण्डौ.।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकार छोटो समयमै अलोकप्रिय भएको बताएका छन्।
शनिबार पोखरामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले दुई तिहाइ सरकारका गतिविधि हेर्दा छोटो अवधिमै अलोकप्रिय भएको देखिएको दाबी गरेका हुन्।
‘सरकार गठनको सुरुवाती दिनमा केही सुधारका संकेत देखिए पनि परिणाम केही नआउँदा आशंका बढेर गयो’ उनले भने, ‘यातायात सिण्डिकेट, ३३ केजी सुनकाण्ड, काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न नसक्नुले चर्चा अनुरुप सरकारले काम,कारबाही गर्न सकेन।’
सरकारलाई काम गर्ने समय अझै दिनुपर्ने उनले तर्क गरे।
‘विपक्षीले संसद र सडक तताउने बेला भइसकेको छैन’ उनले भने। हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि राप्रपाले जनसंघर्ष र जनजागरण अभियान सुरू गरेको उनले बताए। पार्टीको गण्डकी प्रदेश कार्यालय स्थापना गर्न थापा पोखरामा छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।