स्पेनका नागरिकद्वारा आश्रमलाई सहयोग



 

लमजुङ, २६ साउन । स्पेनका एक नागरिकले बेँसीशहरस्थित मानवसेवा आश्रमलाई रु ८० हजार सहयोग गरेका छन् । कामको सिलसिलामा नेपाल आएका स्पेनिस नागरिक लुइस जिमीनेजले सो सहयोग गर्नुभएको हो ।

शनिबार बेँसीशहर–७ मा रहेको आश्रममै पुगेर उहाँले नगद रु ८० हजार हस्तन्तरण गर्नुभएको थियो । ४७ वर्षीय लुइसले मानवसेवा आश्रमको गतिविधि सुनेपछि मानवीयताको नाताले सहयोग गरेको बताउनुभयो ।

लुइसले सहयोग गरेको रु ८० हजारबाट उहाँकै परामर्शमा आश्रमको लागि टेलिभिजन खरिद गरिएको आश्रमकी संयोजक अनिता अधिकारीले बताउनुभयो ।

लुइसले चार वर्षअघिदेखि बेँसीशहरस्थित गुम्बाको लागि करीब रु तीन लाख बराबरको सहयोग गर्दै आउनुभएको छ भने बेँसीशहरकै जनविकास माविमा रु छ लाख बराबरको सहयोग गर्दै आउनुभएको छ । उहाँले मानव सेवा आश्रमका बारेमा पहिलो पटक सुनेको भन्दै आगामी वर्षहरूमा सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।

होटलमा जागिर गर्दै आउनुभएका लुइसले यसअघि नाइजेरियाका परिवारबिहीनलाई आश्रय, सुडान, इथियोपियाका गरिबीमा परेकालाई औषधि सहयोग तथा फिजीका विभिन्न विद्यालयमा स्वयंसेवक शिक्षण सहयोग गरेको बताउनुभयो ।
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्