नयाँ मुलुकी (संहिता) ऐनकोे दफा ५३ (१) कसैले नेपालविरुद्ध हातहतियार उठाई युद्ध गर्न वा युद्ध गर्ने घोषणा गर्न, युद्ध गर्ने उद्योग गर्न वा धम्की दिन वा नेपालविरूद्ध युद्ध गर्ने नियतले हातहतियार, खरखजाना जम्मा गर्न वा सैनिक वा अर्धसैनिक संगठन निर्माणमा रोक लगाएको छ । आगामी १ भदौको बिहानीसँगै नेपालमा लागू हुने ऐनले संविधानसँग असन्तुष्टि जनाउँदै आएको विप्लव नेतृत्वको नेकपाको कतिपय गतिविधिलाई रोक लगाउने छ ।
त्यस्तै ऐनको उपदफा २ ले कुनै विदेशी सेनालाई कुनै किसिमको सामरिक वा सैनिक सूचना दिन वा अन्य कुनै किसिमबाट सहायता गर्न बन्देज लगाएको छ । कसैले ऐन उलंघन गरी कसूर गरे वा गराएमा जन्म कैद हुने व्यवस्था गरिएको छ । ऐनको दफा ५४ मा मित्र राष्ट्रविरुद्ध युद्ध वा विद्रोह गर्न नपाइने भनिएको छ ।
कसैले नेपालको भूमि प्रयोग गरी नेपालसँग दौत्यसम्बन्ध भएको मित्र राष्ट्रविरुद्ध हातहतियार उठाई युद्ध गर्न, त्यसको धम्की दिन वा युद्ध गर्ने उद्योग गर्न वा विद्रोह गर्न वा गराउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।
ऐनको दफा ५६ मा जासूसीसम्बन्धी व्यवस्था गरिएको छ । नेपालको सैनिक स्थिति, सामरिक व्यवस्था वा आन्तरिक सुरक्षाको विषयका सम्बन्धमा जासूसी गर्ने वा गराउने व्यक्तिलाई २५ वर्षसम्म कैद र सरकारले राजनीतिक, आर्थिक वा कूटनीतिक दृष्टिकोणले गोप्य राख्नु पर्ने विषय वा अन्य कुनै गोप्य लिखतका सम्बन्धमा जासूसी गर्ने वा गराउने व्यक्तिलाई ५ देखि १० वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।
यीबाहेक अन्य कुराको जासूसी गर्ने वा गराउने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ, भने कसैले जासूसी गर्न लागेको थाहा पाएर पनि सरकारलाई जानकारी नगराउने व्यक्तिलाई एक वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना कायम गरिएको छ ।
राष्ट्रपति र सांसदमाथि आक्रमण गर्न रोक
मुलुकी ऐनको दफा ५७ राष्ट्रपति उपर आक्रमण प्रतिवन्ध लगाइएको छ । ऐनअनुसार कसैले राष्ट्रपतिको ज्यान लिन वा ज्यान लिने उद्योग गरे जन्म कैद, राष्ट्रपतिलाई अपहरण गरे वा गराए वा शरीर बन्धक लिन वा लिन लगाए १० देखि १५ वर्षसम्म कैद, कसैले राष्ट्रपतिमाथि कुनै किसिमले आक्रमण गरे वा गराए ५ देखि १० वर्षसम्म कैदको सजाय तोकिएको छ । यस घटनाबारे उजुरी जहिले पनि लाग्ने छ ।
त्यस्तै, ऐनको दफा ५८ (१) बमोजिम राष्ट्रपति वा सांसद (संघीय संसद र प्रदेशसभा)लाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाएर वा अन्य कुनै किसिमको दबाव दिइ काम गराउनेलाइ ७ वर्षसम्म कैद वा ७० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ । कसूर भएको थाहा पाएको मितिले २ वर्ष नाघेपछि उजुर लाग्ने छैन ।
याे पनि पढ्नुस् : गार्इगोरू मारे तीन वर्ष, गोपनियता भंग गरे एक वर्ष कैद !
खाद्य पदार्थमा हानिकारक रासायनिक पदार्थ मिसावट गरी उत्पादन गर्न, बिक्री वितरण गर्न वा म्याद नाघेको वा मिसावट भएको खाद्य पदार्थ बिक्री वितरण गरे कारबाही हुने भएको छ । अखाद्य पदार्थ बिक्री वितरण गरे, पैठारी गरे वा बिक्री वितरण गर्न राख्न पाइनेछैन । सो कार्य गरे ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।
कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई बिक्री वितरण गरे पनि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ ।
त्यस्तै, पिउने पानी वा पानीको मुहान दुषित गर्ने वा गराउनेलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय र अन्य प्रयोजनका लागि प्रयोग हुने पानी दुषित पार्ने वा पार्न लगाउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय पनि हुने भएको छ ।
भिक्षा माग्न रोक
जथाभावी भिक्षा माग्नेलाई पनि कारवाही हुने व्यवस्था ऐनमा गरिएको छ । दफा १२६ मा भिक्षा माग्न वा माग्न लगाउन रोक लगाइएको छ । कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन गर्न पाइने छैन । ऐन उलंघन गरी भिक्षा मागे त्याे भिक्षसमेत जफत हुने ऐनमा उल्लेख छ ।
त्यस्तै, पहिलो पटक भिक्षा मागेको भए एक महिनासम्म कैद वा १ हजार रुपैयाँसम्म जरिवाना र दोस्रो पटकदेखि प्रत्येक पटक २ महिनासम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । पहिलो पटक भिक्षा माग्न लगाए १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै र दोस्रो पटकदेखि प्रत्येक पटक ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ ।
तर, कुनै साँधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चली आएको परम्पराअनुसार घरमा पुगेर भिक्षा माग गरेमा वा कुनै धार्मिक वा साँस्कृतिक कार्यमा भिक्षा माग्नेलाई कसूर लाग्ने छैन ।
धर्म परिवर्तन गराउन नहुने
नयाँ मुलुकी ऐनले धर्म परिवर्तन लगाउनेलाई पनि कारवाहीको व्यवस्था गरेको छ । ऐनको दफा १५८ को उपदफा १ अनुसार धर्म परिवर्तन गराउन रोक लगाइएको छ भने उपदफा (२) कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चली आएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न पनि पाइने छैन ।
सो कार्य गर्ने वा गराउनेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना कायम गरिएको छ भने विदेशी भए सजाय भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनु पर्नेछ ।
तेजाव छर्किनेलाई ८ वर्ष कैद
मुलुकी ऐनको ‘गर्भ संरक्षण विरुद्धको कसूर’ दफा १९३ मा तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्ने निकृष्ट कार्यमा उद्यतका लागि कडा व्यवस्था गरिएको छ ।
सो कसूर गर्नेलाई प्रकृति हेरी अनुहार कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अंग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याए तीन वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । जरिवाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्नेछ ।
त्यस्तै, सार्वजनिक स्थानमा यौनाङ्ग देखाउनेलाई ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ । सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गर्ने वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नेलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।