वृक्षारोपण गर्न एक वर्षमा ५० लाख खर्च



दाङ : जिल्लामा यो वर्ष बिरुवा उत्पादन र वितरण गर्न करिब ५० लाख रकम खर्च भएको छ। यो वर्ष जिल्लाका विभिन्न स्थानमा माग भए बमोजिम वृक्षारोपण गर्न करिब ५० लाख रकम खर्च गरेको जिल्ला वन कार्यालयका सूचना अधिकृत खिमबहादुर केसीले बताए।

उनका अनुसार जिल्ला वन कार्यालयले यस वर्ष करिब पाँच लाख बिरुवा खरिद गरि माग बमोजिम वितरण गरिरहेको छ।

कार्यालयले आर्थिक वर्ष २०७४\७५मा जिल्ला वन कार्यालयका अन्तर्गतका भरतपुर सेक्टर, धनौरी सेक्टर, गढवा सेक्टरबाट बिरुवा उत्पादन गरेको थियो भने विभिन्न १४ वटा निजी वनबाट पनि बिरुवा उत्पादन गरिएको थियो। जिल्ला वन कार्यालयले आफनो मातहतको सेक्टरबाट चार लाख ४२ हजार ६७३  बिरुवा उत्पादन गरेको सूचना अधिकृत केसीले बताए।

यस्तै जडिबुटी कार्यक्रम तर्फ १० हजार ७०० बिरुवा उत्पादन गरिएको उनले जानकारी दिए। जिल्ला वन कार्यालयले यस वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ४४ हजार ५०० गरी जम्मा चार लाख ९७ हजार ८७३ बिरुवा उत्पादनको लागि रकम खर्च गरेको थियो।

प्रतिबिरुवा नौ रुपैयाँको दरले उत्पादनस्थलबाटै बिरुवा किनेका छौँ’, सूचना अधिकृत केसीले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत र जडिबुटीका बिरुवा त झन अझ महंगो परेको छ।’

तर पनि ४ लाख ९७ हजार बिरुवालाई प्रतिबिरुवा नौ रुपैयाँको दरले हिसाब गर्दा पनि यो वर्ष कार्यालयले बिरुवा किन्नका लागि मात्रै ४४ लाख ८० हजार रुपैयाँँ खर्च गरेको उनले बताए।

यस्तै वन कार्यालयले उत्पादन क्षेत्रबाट बिरुवा ओसार पसारको लागि ढुवानी खर्च मात्रै करिब पाँच लाख रुपैयाँ विनियोजन गरेको सूचना अधिकृत केसीले बताए।

यो सबै मिलाएर आर्थिक वर्ष २०७४\७५मा जिल्ला वन कार्यालयले बिरुवा उत्पादन र वितरणमा करिब ४९ लाख ८० हजार रुपैयाँ खर्च भएको बताए।  यस वर्ष अन्य वर्षको तुलनामा धेरै बिरुवाको माग भएको हुदाँ पनि धेरै बिरुवा उत्पादन गर्नु परेको उनले बताए।

 

यस्तै वनकार्यालयले आफनो वनसेक्टर अन्तर्गतका नर्सरीहरुबाट टिक, मसला, राजवृक्ष, खाटेबृक्ष, खाटेसल्ला, तेजपात, जामुन, टिमुर, बडहर, सिमल, लाकुरी, श्रीखण्ड, नीम, खयर, मुन्दनी, सतिसाल, सिसौ, सर्पगन्धा, कल्कीफूल, कोइरालो, अशोक, नन्ददी, बेल, गुल्मोहर र बकाइनो लगायतका करिब चार लाख ४२ हजार ६७३ बिरुवा उत्पादन गरी वितरण गरिरहेको छ।

यो वर्ष विभिन्न स्थानीय निकाय, वडा कार्यालयहरू, संघसस्था, विद्यालय, निजी एवं सामुदायिक वनबाट अत्यधिक मात्रामा बिरुवाको माग भइरहेको वन कार्यालयले जनाएको छ।

यसैगरी वृक्षारोपणमा स्थानीयको सहभागिता पनि बढिरहेको कार्यालयको भनाइ छ। हालसम्म उत्पादन भएका करिब ९० प्रतिशत बिरुवा वितरण भइसकेको कार्यालयले जाएको छ।

त्यस्तै कृषि विकास कार्यालय दाङले पनि जिल्लाका बाढी पीडितहरूको लागि करिब साढे छ हजार फलफूलको बिरुवा वितरण गरेको छ। जिल्ला कृषि विकास कार्यालय दाङका प्रमुख दीपककुमार शर्माका अनुसार जिल्लामा बाढीबाट प्रभावितहरूलाई राहतस्वरूप फलफूलका बिरुवा वितरण गरिएको हो।

जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तिलक केसीका अनुसार बिरुवा खरिदका लागि कार्यालय तीन लाख ७५ हजार बजेट विनियोजन गरेको थियो। त्यस्तै बिरुवा बाढी प्रभावितहरुको क्षेत्रसम्म पुर‍्‍‌‍याउन करिब दुई लाख ७० हजार ढुवानी खर्च लागेको थियो। कार्यालयले बाढी प्रभावितहरूका लागि गत वर्ष पाँचलाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।  thahakhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्