डा। केसीलाई प्रधानमन्त्रीको यस्तो कडा प्रस्ताव



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न डा गोविन्द केसीसमक्ष प्रस्ताव गर्नु भएको छ । शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको सुधारका लागि केसीका मागको सीमामा मात्रै अल्झिनु पर्छ भन्ने पक्षमा आफू नभएको भन्दै यस्तो प्रस्ताव गर्नुभएको हो ।

‘म प्रधानमन्त्री भएका बेला तपाईं अनसन नै बस्नु पर्ने थिएन । नागरिकको स्वास्थ्य सेवासँग गाँसिएका विषयमा तपाईंसँग सरकारको कुनै विमति थिएन । स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधार गर्न र यसमा भएका विकृति अन्त्य गर्न एउटा बलियो संयन्त्र बनाउँ’ प्रधानमन्त्री ओलीले केसी समक्ष भन्नुभयो, ‘त्यसको कमाण्ड तपाईं सम्हाल्नुस्, दुर्गमका नागरिकको सुलभ स्वास्थ्य सेवाका लागि कसले अवरोध गर्छ डण्डा चलाउने संयन्त्रको नेतृत्व तपाईं नै गर्नुस्, तपाईंको पछाडि बसेर सरकारले सहयोग गर्छ ।’

प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भए पनि आफू त्यस्तो प्रशासनिक जिम्मेवारीमा नरहने र त्यसका लागि कयौं योग्य डाक्टर र प्रशासकहरु रहेको केसीले भन्नुभयो । ‘म त्यस्तो संयन्त्रमा बस्दिनँ, बाहिरै बसेर काम गर्छु, अन्य योग्य ब्यक्तिहरु धेरै हुनुहुन्छ’ केसीले जवाफ दिनुभयो।

प्रधानमन्त्री ओलीले आफ्नो संकल्प देश बनाउने भएको र नागरिकको स्वास्थ्य र शिक्षाको विषयमाथि आफ्नो संकल्प र प्रतिवद्धता कमजोर नरहेको बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा सुधार गर्न केसीसँग भएका सम्झौतामा मात्रै सीमित रहनु पर्छ भन्ने आफूलाई नलागेको र त्यसबारे खुला भएर काम गर्न तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले कुनै निजी मेडिकल कलेजसँग गाँसेर आफूलाई नहेर्न पनि केसीलाई आग्रह गर्नुभयो ।

भेटमा डाक्टर केसीले सहमति भएको १५ दिन बितिसक्दा पनि माग कार्यान्वयनको सुरुवात नभएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । माग पूरा नभए आफू फेरि अनशनमा बस्ने चेतावनी पनि दिनुभएको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै १५ औं पटक अनशनमा बसेको २७ औं दिनमा सरकारसँग सहमति भएपछि डाक्टर केसीले गएको १० गते अनशन तोड्नुभएको थियो ।उज्यालो अनलाइन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्