७६ प्रतिशत डाक्टर फेल !



काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४.४ प्रतिशत मात्र उतीर्ण भएका छन् ।

७७६ जना एमबीबीएस पास गरेका चिकित्सकहरुले दिएको लाइसेन्स परीक्षामा जम्मा १८९ जनामात्र पास भएका छन् ।

‘यो नजितालाई हेर्दा धेरे विद्यार्थी फेल भएको देखिएपनि वर्षभरीको नतिजालाई आधार मान्दा नेपालमा वाषिर्क ६० देखि ७० प्रतिशत विद्यार्थी पास भएकै देखिन्छ । जुन आफैमा नराम्रो नतिजा हैन ।’ नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले भने ।

यद्यपि, यस पटक सामेल भएका अधिकांश विद्यार्थी पुराना व्याचको (छ वर्ष अगाडि देखिएकोे) भएकोले पनि नतिजा राम्रो नआएको हुनसक्ने काउन्सिलले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलले मार्च, अगष्ट र डिसेम्बर गरी वर्षमा तीन पटक चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा लिने गर्दछ । जसमध्य डिसेम्बरमा सबैभन्दा धेरै विद्यार्थीहरुले उक्त परीक्षामा सामेल हुने गर्दछ ।

‘यस पटक सामेल भएका विद्यार्थीमध्य करिब चार सयदेखि पाच सय विद्यार्थी पुराना व्याच (छ वर्ष अघिको) भएकोले पनि हुनसक्छ, यति कमजोर नतिजा आएको सम्भवत यो नै पहिलो हो । यद्यपि, यसकै भरमा पढाइको गुणस्तर नै घट्यो भनेर भन्न सकिने अवस्था भने छैन ।’ काउन्सिलका प्रवक्ता डा। कृष्ण अधिकारीले भने ।

विशेषगरी, विद्यार्थीको संख्या, पढाइको स्तर तथा विद्यार्थीको क्षमताले पनि नतिजामा असर पार्ने हुँदा प्रतिशतका हिसाबले पनि यस पटकको नतिजा अहिलेसम्मकै कमजोर देखिएको उनले बताए ।

उनका अनुसार काउन्सिलले यस भन्दा अगाडि ०७४ साल मंसिर १६ गते लिएको परीक्षामाजम्मा ३९ प्रतिशतमात्र उत्तीर्ण भएका थिए । जुन यसभन्दा अगाडिको सबैभन्दा कमजोर नतिजा हो ।

बिडीएसमा ५७ प्रतिशत उतीर्ण

यस्तै, काउन्सिलले शनिवार लिएको बीडीएस तर्फको परीक्षामा भने ५७.५ प्रतिशत विद्यार्थी पास भएका छन् ।

जम्मा १२७ जना परीक्षार्थी सामेल उक्त परीक्षामा ७३ जना (५७.४८प्रतिशत) जना पास भएको काउन्सिलले जनाएको छ ।

यो नतिजासँगै काउन्सिलले हिजो लिएको दुवै परीक्षामा पास हुनेको संख्या जम्मा २९ प्रतिशत रहेको पाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्