मिना बुढाथोकी
सल्यान, २८ साउन । जिल्लामा वैदेशिक रोजगारमा जाने महिलाहरुको संख्यामा दिनानुदिन वृद्धि भई रहेको पाइएको छ । गत वर्षको तुलनामा यसवर्ष वैदेशिक रोजगारमा जाने पुरुषको भन्दा महिलाको संख्यामा बढी पाइएको हो । विगत एक वर्षको अबधिमा जिल्ला र केन्द्रबाट सल्यानका ४ सय ९ जना महिलाले राहदानी लिएको प्रशासन स्रोतले जनाएको छ ।
आर्थिक वर्ष ०७४÷७५ मा जिल्लामा जम्मा ३ हजार ८ सय २८ जनाले राहादानी लिएका छन । जिल्ला प्रशासन कार्यलय सल्यानबाट ८ सय ८४ र काठमाडौँबाट २ हजार ९ सय ४४ जना गरी ३ हजार ८ सय २८ जनाले राहादानी लिएको जिल्ला प्रशासन कार्यलय सल्यानले जनाएको छ ।
जसमा जिल्लाबाट ७ सय ९२ जना पुरुष र ९२ जना महिला रहेका छन भने काठमाडौँबाट २ हजार ६ सय २८ जना पुरुष र ३ सय १७ जना महिला गरी यस बर्ष ३ हजार ८ सय २८ जनाले राहादानी लिएको कार्यलयले जनाएको छ ।
गत वर्ष ४ हजार ५ सय ७९ जनाले राहादानी लिएका थिए । जिल्ला बाट ९ सय ८ जना र केन्द्र बाट ३ हजार ६ सय ७१ जनाले लिएकोमा ३ सय ७९ जना महिलाले राहदानी लिएको प्रशासन राहदानी फाँटका प्रमुख महाबिर वलीले बताए । उनका अनुसार गत सालको तुलनामा यस बर्ष वैदेशिक रोजगारीमा जानेको संख्या घटेको भएपनि पुरुषको तुलनामा महिलाको संख्यामा भने बृद्धि भएको छ ।
वैदेशिक रोजगारीमा जाने अधिकांश महिला विवाहित, श्रीमानले दोस्रो बिवाह गरेका, २ देखि ४ वटा बच्चा भएका कारण पालनपोषणमा समस्या भएकाहरु रहेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले बताए । राहदानी लिने हरुमा १८ बर्ष देखि ३० बर्ष सम्मका महिलाहरु रहेका उनले बताए ।
पछिल्लो समय खाडी मुलुकमा महिलाहरु घरेलु कामदारको रुपमा जाने गरेको सहायक प्रमुख जिल्ला अधिकारी टण्डनले बताए । खाडी देशहरूमा बुढाबुढी र बालबालिका हेर्ने मानिसको कमी छ । त्यसमा महिला कामदारको निकै माग छ । नेपाली महिला कामदारहरूको मुख्य गन्तव्य संयुक्त अरब एमिरेट्स, कुवेत र मलेसिया रहेको उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।