यस्तो अबस्थामा मात्र अब राष्ट्रियसभाको काम रोकिने



काठमाण्डौ २८ साउन।
राष्ट्रियसभाले बहालवाला सांसदको निधनमा मात्र संसद बैठकको काम रोक्ने निर्णय गरेको छ।

पटकरपटक पूर्व सांसदको निधनमा बैठक स्थगित गर्दा काम प्रभावित भएको ठहर गर्दै राष्ट्रियसभाले बहालवालाको हकमा मात्र काम रोक्ने निर्णय लिएको हो।

राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिले पूर्व सांसदको निधन भए पनि पहिलो बैठकमा काम गर्ने निर्णय लिएको हो।

शोक प्रस्ताव पारित गर्न सोही दिन दोस्रो बैठक बोलाउने निर्णय समितिले गरेको छ। पहिलो बैठकमा कार्यसूची अनुसारका काम अगाडि बढाउने र केही समयको अन्तरालमा दोस्रो बैठक गरी शोक प्रस्ताव पेश गर्ने निर्णय भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए।

गत साउन १६ गते पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा राष्ट्रियसभा बैठक स्थगित भएको थियो। लगत्तै साउन २१ गते पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा राष्ट्रिय सभा बैठक स्थगित भएको थियो।

‘पटकरपटक पूर्व माननीयको निधनमा बैठक स्थगित गर्दा काम प्रभावित हुने देखेर यो निर्णय भएको हो’, पौडेलले सेतोपाटीसँग भने।

संसदमा शोक प्रस्ताव पारित गरेपछि अन्य काम नगर्ने प्रचलन छ। त्यसैले, पहिलो बैठकमा काम गरेर दोस्रो बैठकमा शोक प्रस्ताव अगाडि बढाउने निर्णय समितिले लिएको हो।

लगातार स्थगित रहेको राष्ट्रिय सभामा आज पनि २०१५ सालको पहिलो संसदका प्रमुख प्रतिपक्षी दलका नेता भरतशम्शेर राणाको निधनको जानकारी आएको थियो। तर, उक्त शोक प्रस्ताव दोस्रो बैठकमा पेश गर्ने निर्णय राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिले लिएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्