प्रतिनिधिसभामा सांसदका विषय : अन्तर्राष्ट्रिय विमानस्थल र सडकका खाल्डा



काठमाडौं : प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले आ-आफ्नो क्षेत्रको समस्याका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद उमाकान्त चौधरीले बारा जिल्लामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकको काम अघि बढ्न नसकेको भन्दै दुवै आयोजनाको स्थिति बारे सदनलाई जानकारी गराउन माग गरे।

सांसद कृष्णप्रसाद दाहालले राजधानीलाई जोड्ने वैकल्पिक राजमार्ग कान्ति राजमार्गको काम सम्पन्न हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउदै समयमा काम सम्पन्न गर्न नसक्ने ठेकेदारलाई कारबाहीको माग गरे।

सांसद कृष्णभक्त पोखरेलले संविधानको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त बासस्थानको व्यवस्था हुने उल्लेख भएकाले आवश्यक कानुन निर्माण गरी आगामी असोज ३ गते भित्र असुरक्षित बसोबास गरिरहेकालाई सुरक्षित स्थानमा सार्छु भनि संकल्प गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयभित्रै सम्पन्न्न गर्ने तर्फ तदारुता देखाउन सरकारको ध्यानाकर्र्षण गराए। उनले विमानस्थल निर्माणमा अवरोध पुर्याउन प्रयास गर्नेलाई कारबाही गर्न पनि माग गरे।

सांसद गगनकुमार थापाले आगामी भदौ १४ र १५ गते राजधानीमा हुन लागिरहेको बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी पाहुनालाई एउटै होटलमा नराखी फरक फरक होटलमा राख्न तथा राजधानीको सडक अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद घनश्याम खतिवडाले मोरङ जिल्लाको उत्तरमा रहेको चिस्यान खोला र बक्राहा खोलामा निर्माणाधिन पुल र लेटान ६ नम्म्बर बुधबारे मोटर बाटो तथा उर्लाबारी मधुमल्ला रवि बाटो निर्माणमा ठेकेदारको लापरबाही देखिएको भन्दै ठेक्का लिएर पनि समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई आवश्यक कारवाही गर्न माग गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्