बीएण्डसीलाई सम्बन्धन दिन प्रधानमन्त्री ओली र प्रचण्डको दबाब



झापा ।

झापाको बीएण्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिन चलखेल सुरु भएको छ। बीएण्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिन प्रधानमन्त्री केपी ओलीले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिलाई दबाब दिएका छन्।

प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासलाई मेडिकल कलेज सञ्चालन गरेर व्यवसायी दुर्गा प्रसाइँ सञ्चालक रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन दबाब दिएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले पूर्वाञ्चलका उपकुलपति दासलाई शुक्रबार बालुवाटार बोलाएर बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन दबाब दिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उपकुलपतिलाई बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र झापासहित पूर्वाञ्चलका नेकपाका १०-१२ जना सांसद समेत उपस्थित थिए।

अध्यक्ष दाहाल, शिक्षामन्त्री पोखरेल र नेकपाका सांसदहरुलाई सँगै राखेर प्रधानमन्त्री ओलीले उपकुलपति दासलाई मेडिकल कलेज सञ्चालन गरेर बीएण्डसीलाई तत्काल मेडिकल कलेजको सम्बन्ध दिन भनेका हुन्। उपकुलपति दासलाई प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए,‘अब तपाईले मेडिकल कलेज सञ्चालन गर्नुस् र मेडिकल कलेजको सम्बन्धन दिनुस्। त्रिवि र केयूले मेडिकल कलेज सञ्चालन गर्ने कोटा पुगिसक्यो। उनीहरुले पाँच–पाँच वटा मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका छन्। त्यसैले अब पूर्वाञ्चलले सञ्चालन गर्नु पर्‍याे किन भने बीएण्डसीलाई सम्बन्धन दिनु पर्नेछ।’

प्रधानमन्त्री ओलीले मेडिकल कलेज सञ्चालन गर्न र बीएण्डसीलाई सम्बन्धन दिन निर्देशन दिएपछि उपकुलपतिले दासले ऐन नियमअनुसार गर्छु भन्ने जवाफ दिएका थिए। तर, उनको जवाफ सकिन नपाउँदै शिक्षामन्त्री पोखरेल उनीविरुद्ध खनिएका थिए।

शिक्षामन्त्री पोखरेलले उपकुलपति दासलाई ऐन नियम सब कुरा छोड्नुस्। हामीले जे बोल्छौं–भन्छौं, त्यही हो ऐननियम भनेर चेतावनी दिएका थिए। शिक्षामन्त्री पोखरेलले उपकुलपति दासलाई पूर्वाञ्चल विश्वविद्यालयमा अब कुनै पनि पदमा नियुक्ति गर्दा आफूहरुको सिफारिसबाट मात्रै गर्न उनलाई चेतावनी दिएको प्रजातन्त्रवादी प्रध्यापक संघका अध्यक्ष जगत तिम्सिनाले स्पेसखबरलाई जानकारी दिए।

उपकुलपति दासलाई प्रधानमन्त्री ओलीले घुमाउरो हिसावले दासलाई आफूले भने अनुसार काम नगरे बर्खास्त गर्ने चेतावनी दिएका थिए। उपकुलपति दासलाई प्रधानमन्त्री ओलीले भने,‘तपार्इँको अहिले कलम चल्छ। र, हाम्रो पनि कलम चल्छ। तर, एक पटक मात्रै कलम चलाएर हुँदैन।’

प्रजातन्त्रवादी प्रध्यापक संघका अध्यक्ष तिम्सिनाले प्रधानमन्त्री ओलीसहित नेकपाका अध्यक्ष दाहाल, शिक्षामन्त्री पोखरेलले उपकुलपति दासलाई बीएण्डसीलाई मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिने गरी काम अघि बढाउन चेतावनी दिएको बताए।

‘प्रधानमन्त्री ओलीले यसअघि संस्कृत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइरालालाई एयरपोर्टबाट समात्न लगाएर बालुवाटारमा घण्टौं थुन्नु भयो। फेरि कांग्रेस सरकारका पालामा नियुक्त भएका उपकुलपतिहरुलाई छानेर राजीनामा दिन वा आफूले भनेको काम गर्न दबाब दिनु हुन्छ,’उनले भने,‘यो कदम राम्रो होइन।’

तर, प्रधानमन्त्रीका एक जना सल्लाहकारले भने,‘प्रधानमन्त्री ओलीले उपकुलपतिलाई बोलाएर नियमित भेटघाट गर्नु भएको हो, त्यस्तो कुनै दबाब दिनु भएको छैन।’

सुदूरपश्चिमका उपकुलपतिमाथि पनि दबाब

प्रधानमन्त्री ओली र शिक्षामन्त्री पोखरेलले शनिबार सुदूरपश्चिम विश्वविद्यालयकी उपकुलपति भूषण श्रेष्ठलाई पनि बालुवाटार बोलाएर आफूहरुले भने बमोजिम नियुक्ति गर्न दबाब दिएको संघका अध्यक्ष तिम्सिनाले बताए।

उनका अनुसार प्रधानमन्त्री ओली र शिक्षामन्त्रीले त्यस क्षेत्रका सांसदहरुको एउटा कार्यदल बनाउने र सोहीको कार्यदलको मातहतमा रहेर काम गर्न उपकुलपति श्रेष्ठलाई निर्देशन दिएका थिए। सुदूरपश्चिम विश्वविद्यालयको सिनेट आइतबारका लागि बोलाइएको थियो। त्यसको अघिल्लो दिन शनिबार प्रधानमन्त्री ओली र शिक्षामन्त्री पोखरेलले उपकुलपतिलाई बोलाएर आफूहरुले भनेबमोजिम काम नगरे अप्ठ्यारो पर्ने चेतावनी दिएका थिए।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आफैले बोलाएको सिनेट बैठक आइतबार एकघण्टा अघिमात्रै स्थगित गरेका थिए। सिनेटका सदस्यहरु सबै काठमाडौं आइसकेको भएपनि एक घण्टाअघि मात्रै शिक्षामन्त्री पोखरेलले उपकुलपति श्रेष्ठलाई फोन गरेर बैठक स्थगित भएको र पछि खबर गरिने जानकारी गराएका थिए।

स्पेसखबर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्