साँघुबाट महासंघका अध्यक्ष आचार्य नै पीडित, साँघु बिरुद्ध प्रेस काउन्सिलमा उजुरी हाल्ने तयारी



 

काठमाडौं, २८ साउन । पीत पत्रकार र पीत पत्रकारिताबाट नेपाल पत्रकार महासंघका अध्यक्ष नै पीडित बनेका छन् । महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको अध्यक्ष हुनुअघि र त्यसपछि लगातार सुनियोजित, भ्रमपूर्ण र चरित्रहत्या गर्नेगरी समाचार प्रकाशित गर्दै आएको र कहिल्यै आफ्नो प्रतिक्रियालाई ठाउँ नदिएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी हाल्न बाध्य भएका छन् । “आजको साँघु साप्ताहिकले मलाई पत्रकार महासंघको लुम्बिनीमा बैठक सकेर हेलिकोप्टर चढेर काठमाडौं फर्कियो भनेर समाचार छापेछ ।

 

त्यसैगरी बैठकमा मैले बोल्दै नबोलेका, भन्दै नभनेका कुरालाई पनि यसो भन्यो भन्दै लेखेछ र बैठकका विषयमा फूलबुट्टा भरेर, आक्षेपहरु लगाएर, झुठको पुलिन्दा बुनेर समाचार छापिएछ । यसअघि पनि म पत्रकार महासंघको अध्यक्ष निर्वाचित भए यता र त्यसअघि पनि विभिन्न मितिमा मेरा बारेमा सुनियोजित, भ्रमपूर्ण र चरित्रहत्या गर्ने गरी लगातार साघुले समाचार प्रकाशन गर्दै आएको छ”, अध्यक्ष आचार्यले भनेका छन् । उनले अगाडि थपेका छन्, “साँघु साप्ताहिकले मेरा बारे प्रकाशित समाचारका सम्बन्धमा कहिल्यै मेरो प्रतिक्रियालाई ठाउँ दिएको छैन । अरु कसैको कोड पनि गरिएको छैन ।

” “यसरी मेरा विरुद्ध लगातार साँघुले चरित्रहत्या गर्नेगरी समाचार प्रकाशन गरेपछि आज पहिलोपटक प्रेस काउन्सिलमा उजुरी हाल्न बाध्य भएको छु”, अध्यक्ष आचार्यले भनेका छन् । अध्यक्ष आचार्यले साँघुले आफ्ना विरुद्ध प्रकाशित गरेका गलत समाचारको भूलसुधार गरी जुन स्थानमा समाचार प्रकाशन गरेको हो सोही स्थानमा समाचारवारे आफ्ना भनाई राख्ने मौका दिने आशा व्यक्त गरेका छन् । पछिल्लोपटक साँघुले नेपाल पत्रकार महासंघको लुम्बिनीमा सम्पन्न चौथो पूर्ण बैठकको समाचार प्रकाशित गरेको छ । उक्त समाचारमा हुँदै नभएको कुरालाई कल्पनाको उडान भर्दै समाचार लेखिएको छ ।

 

साँघुका प्रधानसम्पादक गोपाल बुढाथोकी प्रेस काउन्सिल नेपालका सदस्य पनि हुन् । अध्यक्ष आचार्य पनि प्रेस काउन्सिल नेपालका पदेन सदस्य हुन् । देशैभरका सञ्चारकर्मीहरु र सञ्चारमाध्यमहरुमा पत्रकार आचारसंहिताको परिपालना भए/नभएको अनुगमन गर्ने र आचारसंहिता पालना गराउने प्रमुख जिम्मेवारी बोकेको प्रेस काउन्सिलका एउटा सदस्यका विरुद्ध अर्को सदस्यले प्रकाशित गरेको समाचारले काउन्सिलमै उजुरी हाल्नुपर्ने शर्मनाक अवस्था सिर्जना भएको छ । अझ काउन्सिलले देशभरिका पत्रपत्रिकाको मूल्यांकन पनि गर्छ । अरुको मूल्यांकन गर्ने थलोमा बस्दासम्म आफू सञ्चारमाध्यमको संलग्नताबाट अलग रहन सके पनि थप नैतिक हुन्थ्यो होला कि ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्