बुटवल । बन्दकर्ताहरुले यात्रुबहाक बसमा पेट्रोल बम प्रहार गरेका छन्। रुपन्देहीको तिलोत्तमा, पथ्थरडाँडामा पेट्रोल बम प्रहार हुँदा एक यात्रु घाइते भएका छन्।
पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६३१ नम्बरको बसमा पेट्रोल बमले आक्रमण गरेका हुन्। बसमा सवार रोशन बहादुर थापालाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी कुमोध ढुंगेलका अनुसार बिहान करिब ४ बजेको समयमा बसमा आक्रमण भएको हो। आक्रमण गर्नेहरुको खोजी भइरहेको उनले बताए।
बन्दका कारण रुपन्देहीमा अन्य दिन भन्दा थोरै मत्र सवारी चलेका छन्। शैक्षिक संस्थाहरु अधिकांश बन्द भएका छन्।
केन्द्रीय नेता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ पक्राउको विरोधमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार बन्दको आह्वान गरेको हो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।