कालीगण्डकीले विद्यालय भवन बगायो



म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानीस्थित धवलागिरी आधारभुत विद्यालयको कक्षा कोठा भवन कालीगण्डकीले बगाएको छ। दुई दिनदेखिको अविरल वर्षाका कारण कालीगण्डकीले धार परिवर्तन गरेर कटान गर्दा बुधबार बिहान ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिए।

कक्षा ३ सम्म पठनपाठन हुने विद्यालयमा २० जना विद्यार्थी अध्ययनरत छन्। नदी कटानका कारण पर्यटकीय जिल्ला मुस्ताङ प्रवेश गर्ने पदमार्गमा रहेको कोप्चेपानीको बस्ती पनि जोखिममा परेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए।

कोप्चेपानीमा २६ घरपरिवारको बसोबास छ। कालीगण्डकी बस्तीको करिब पचास मिटर नजिकबाट बग्न थालेको छ। वर्षाका कारण कालीगण्डकीको बहाब उच्च बनेको छ।

यसैबीच, गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुन नेतृत्वको टोली घटनास्थल लागे पनि बेनी–जोमसोम सडक खण्ड अन्तर्गत भुरुङ तातोपानी खण्डमा सडक भासिएका कारण बीच बाटोमै रोकिएका छन्।

घटनास्थल पुगेपछि बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र विद्यार्थीलाई वैकल्पिक अध्ययनको व्यवस्था मिलाईइने अध्यक्ष पुनले जानकारी दिए।

अन्नपुर्ण

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्