ग्राण्डीमा यस्तो ठगी धन्दा -एम्बुलेन्समा आएको विरामीले तिरे हेलिकोप्टर चढेको पैसा



हेलिकोप्टर नपठाएरै झण्डै २ लाख ठगी

             उदय जीएम
काठमाडौं, ३० साउन । राजधानीमा रहेको मुलुककै सबैभन्दा ठूलो र सुविधासम्पन्न मानिने ग्राण्डी हस्पिटलमा हुने गरेका ठगीका नयाँ नयाँ तथ्य र शैलीहरु सार्वजनिक हुन थालेका छन् । पछिल्लोपटक एम्बुलेन्समा ल्याइएकी दाङकी विरामीबाट हेलिकोप्टरको चार्ज असुल गरिएको छ । खाएको विष त लाग्थ्यो लाग्थ्यो, दाङकी एक विरामीलाई नखाएको विष पनि लगाइएको छ घटना यही साउन १३ गतेको हो । बिहान करीव ११.४५ बजेतिर भूमे– ९ रुकुम घर भई हाल घोराही उपमहानगरपालिका मिलनचोकमा बस्दै आएकी ५६ वर्षीया रुद्रा पुनलाई अचानक हृदयघात भयो । तुरुन्तै घोराहीस्थित गोरखा अस्पताल पुराइयो । अस्पतालले तुरुन्तै काठमाडौं वा लखनऊ लैजानुपर्ने र जिल्लामा उपचार हुन नसक्ने जानकारी गरायो ।

 

विरामी रुद्रा पुनका भतिजा विकास पुनका अनुसार आत्तिएका आफन्तहरुले “ग्राण्डी अस्पतालले हेलिकप्टर र डाक्टरहरुसहित रेस्क्यू गर्छ र ग्राण्डीको छतमै हेलिप्याड छ” भन्ने सुनेका आधारमा ग्राण्डीमा सम्पर्क गरिएको थियो । अस्पतालले यातायात व्यवस्थापक आशीष आनन्दसँग सम्पर्क गराइदियो । आशीष आनन्दले ४ लाख ५० हजार रुपैयाँ अग्रिम जम्मा गरिदिएपछि तत्काल हेलिकोप्टरसहितको रेस्क्यू टोली पठाउने बताए । “हामीले सोहीअनुसार आशीष आनन्दले दिएको नबिल बैंकमा रहेको सुरेन्द्र बुढाथोकी खातामा १३ गते नै दिउँसो १.४५ बजेतिर जम्मा गर्यौं”, विकासले भने । रकम पनि अस्पताल वा हेलिकोप्टर कम्पनीको खातामा नभई व्यक्तिको नाममा पठाउन भनिएको छ । विकासका अनुसार त्यसको करीव ४५ मिनेटपछि आशीष आनन्दले नै फोन गरी “दाङमा मौसम खराब भएकाले हेलिकप्टर पोखरामा ल्याण्ड भयो । तपाईहरु भोलिसम्म पर्खनुस् । भोलितिर मौसम मिलेमा पठाइदिन्छौं” भने । विकास भन्छन्, “उता हामीलाई बिरामीको अवस्था थप नाजुक बन्दै गएकोले चिन्तित बनाएको थियो ।

 

त्यसमाथि ग्राण्डी अस्पतालको जिम्मेवार व्यक्तिले विरामीको अवस्था के ? कस्तो ? पर्खन मिल्ने वा नमिल्ने ? केही पनि नबुझिकन फोन काट्यो ।” त्यसपछि बिरामीलाई एम्बुलेन्समा रातारात हिडाएको विकासले बताए । साउन १४ गते बिहान काठमाडौं पुराएर नर्भिक अस्पतालमा भर्ना गरिएको र ५ दिनसम्म सघनकक्षमा राखेर उपचार गरिएको विकासले बताए । उपचारपछि विरामी निको भएको र अहिले फ्लोअपमा रहेकी छन् ।उपचारकै क्रममा पटकपटक फोन गरेर पैसा फिर्ता दिन अनुरोध गर्दा कहिले फोन काट्ने, फोन नउठाउने, कहिले पछि गर्छु भन्ने, कहिले बिजी छु, कहिले मिटिङमा भनेर झुलाएको विकासले बताए । करीव ४÷५ दिनपछि १ लाख ८० हजार काटेर बाँकी रकम २ लाख ७० हजार फिर्ता गरिएको विकासको भनाइ छ । “हामीले हेलिकोप्टर नै प्रयोग गरेका छैनौं । अस्पतालको कुनै सेवा उपभोग गरेका छैनौं”, विकासले भने, “कसरी र कुन आधारमा हामीले त्यत्रो पैसा तिर्ने ? यो सरासर लुट हो ।”

 

 

विरामीका आफन्त विकासका अनुसार नचढेको र देख्दै नदेखेको हेलिकोप्टरको शुल्क भनेर लिइएको १ लाख ८० हजारको पनि न नगदी रसिद दिइएको छ न भ्याट बिल । विकासले भने, “अस्पताल प्रशासनसँग कुरा गर्न पनि दिइएन ।” एकातिर राजस्व छली गर्ने उद्देश्यले व्यक्तिका नाममा रकम पठाउन भन्ने र अर्कोतिर चढ्दै नचढेको र देख्दै नदेखेको हेलिकोप्टरको त्यति ठूलो रकम भाडा असुलेर ग्राण्डीले ठगिरहेको आरोप विकासको छ ।

 

यता, ग्राण्डी इन्टरनेशनल हस्पिटलका यातायात व्यवस्थापक आशीष आनन्दले आफू बिजी भएको भन्दै पन्छिए । उनले मिडिया कोअर्डिनेटर विनोद अधिकारीसँग यस विषयमा कुरा गर्न भने । मिडिया कोअर्डिनेटर विनोद अधिकारीले हेलिकोप्टर काठमाडौंदेखि पोखरासम्म उडेकाले १ लाख ८० हजार भाडावापत काटिएको जानकारी दिए । सो रकमको रसिद आफूहरुसँग भएको दावी उनले गरे । अधिकारीले डा. अजयसिंह थापाको नेतृत्वमा मेडिकल टिम हेलिकोप्टरमा उडेको तर मौसम खराव भएर पोखरामा ल्याण्डिङ भएको उनको दावी छ । उल्टै मेडिकल टिमले लिनुपर्ने २५ हजार छुट गरिदिएको दावी अधिकारीको छ ।

यता, हेलिकोप्टर कम्पनी डाइनेष्टिकका मार्केटिङ म्यानेजर बालकृष्णले भने फोन उठाएनन् । यद्यपि, पीडित विकास पुनसँगको कुराकानीमा उनले आफूलाई त्यसबारे कुनै जानकारी नभएको बताएका छन् । ग्राण्डी इन्टरनेशनल हस्पिटल, त्यहाँका कर्मचारी र हेलिकोप्टर कम्पनीको मिलेमतोमा यस्ता गम्भीर प्रकृतिका विरामीहरु कहिलेसम्म लुटिइरहने, कहिलेसम्म ठगिइरहने ? महाकालीमा हेलिकोप्टर बोलाएपछि मेचीमा ल्याण्डिङ गरेर त्यसको भाडा महाकालीमा रहेको विरामीसँग असुल्न मिल्छ ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्