दाङ, साउन ३० । काठमाडौँमा रहेका नेपाल संस्कृत विश्वविद्यालयका महत्वपूर्ण कार्यालयहरु दाङ स्थानान्तरण हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको निर्देशनमा विश्वविद्यालयको स्थापनासँगै काठमाडौँमा रहेका अनुसन्धान केन्द्र र सांस्कृतिक केन्द्र केन्द्रीय कार्यालय बेलझुण्डीमै स्थानान्तरण हुने भएका हुन् ।
जिल्लाका सारोकारवालाहरुको तीब्र दवावका बीच पनि कार्यालयहरु काठमाडौँमा नै रहँदै आएका थिए । गत जेठ १० गतेको मन्त्री परिषद्को बैठकले विश्वविद्यालयका सम्पूर्ण विभाग र कार्यालयहरु केन्द्रीय कार्यालयमै स्थानान्तरण गर्ने गराउने निर्णय गरेको थियो । तर, बैठकको निर्णय बिपरित संस्कृत विश्वविद्यालयका सांस्कृतिक केन्द्र र अध्ययन केन्द्र काठमाडौँबाटै सञ्चालनमा आएका थिए ।
विश्वविद्यालयका उप–कुलपति प्रा.डा. कुलप्रसाद कोइराला र कार्यकारी निर्देशक काशीनाथ न्यौपानेले अध्ययन केन्द्र र सांस्कृतिक केन्द्र केन्द्रीय कार्यालय दाङ सार्दा विज्ञ टोलीको अभाव हुने, आर्थिक भार थपिनेलगायतका माग राख्दै कार्यालय दाङ सार्न अटेरी गरिरहनुभएको थियो । अध्ययन केन्द्रविनाको विश्वविद्यालयको केन्द्रीय कार्यालयको कुनै औचित्य नहुने भन्दै जिल्लामा क्रियाशील विद्यार्थी संगठनहरुले काठमाडौँमा रहेका कार्यालयहरु दाङ सार्नुपर्ने मागसहितको ज्ञापन पत्र प्रधानमन्त्री र शिक्षामन्त्रीलाई बुझाएका थिए ।
मन्त्री परिषद्को बैठकको निर्णय कार्यान्वयनमा ल्याउँदै नेपाल संस्कृत विश्वविद्यालयका अध्ययन केन्द्र र सांस्कृतिक केन्द्रलाई केन्द्रीय कार्यालय बेलझुण्डीमा स्थानान्तरण गर्नुपर्ने मागसहित प्रधानमन्त्री र शिक्षामन्त्रीको कार्यालयमा डेलिगेशन गएको भन्दै अनेरास्ववियु दाङका अध्यक्ष बिरवल खड्काले आफ्ना माग पुरा भएको बताउनुभयो । ‘मन्त्री परिषद्को निर्णय कार्यान्वयन गराउनमा प्रधानमन्त्री र शिक्षामन्त्री दुवैले लिखित प्रतिवद्धता प्रकट गर्नुभएको छ’, अध्यक्ष खड्काले भन्नुभयो, ‘यथाशक्य दुवै कार्यालय दाङमै स्थानान्तरण गर्न प्रधानमन्त्रीको कार्यालयबाट विश्वविद्यालयको नाममा लिखित निर्देशन जारी गरिएको छ ।’
यता विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा। रमेशप्रसाद ढकालले प्रधानमन्त्री र शिक्षामन्त्रीको कार्यालयबाट लिखित निर्देशन आउँदा साथ निर्णयलाई कार्यान्वयनमा लैजाने बताउनुभएको छ । ‘डेलिगेशनमा गएका विद्यार्थी नेताहरुकै सामुन्य सम्माननीय प्रधानमन्त्री एवं कुलपतिको कार्यालयबाट विश्वविद्यालयको नाममा निर्देशन पत्र पठाइएको जानकारी पाएको छु । यो खुसीको कुरा हो’, अध्ययन केन्द्र र सांस्कृतिक केन्द्रका अध्यक्षसमेत रहनुभएका शिक्षाध्यक्ष ढकालले भन्नुभयो, ‘रजिष्टार ज्यू र मैले आज छलफल गरेका छौं । पत्र आउँदा साथ कार्यान्वयनको पाटोमा जान्छौं ।’
अध्ययन केन्द्र र सांस्कृतिक केन्द्र विश्वविद्यालयका मुटु भएको भन्दै शिक्षाध्यक्ष प्रा। ढकालले मुटुविनाको विश्वविद्यालयको औचित्य नहुँदा आफूहरु यो कार्यमा पहिलेदेखि नै लागिपरेको बताउनुभयो । ‘कार्यकारी बैठकमा रजिष्टार ज्यू र मैले पटक–पटक कुरा उठाउँदै आएका थियौं । उपकुलपति ज्यूले मान्नुभएको थिएन । सोधार्थीहरुलाई दुःख हुन्छ, विज्ञहरुको टोली पाइदैन भन्ने बाहानामा दुवै कार्यालय काठमाडौँमै राखिएको थियो’, ढकालले भन्नुभयो, ‘अब सबै काम केन्द्रीय कार्यालयबाट नै हुन्छन् । उपकुलपति ज्यू आएपछि यथाशक्य कार्यान्वयनको पाटोमा लैजान्छौं ।’
निर्णयको चौतर्फि स्वागत
यसैबीच जिल्लाका सरोकारवालाहरुले प्रधानमन्त्री र शिक्षामन्त्रीको कार्यालयको निर्णयको स्वागत गरेका छन् । महत्वपूर्ण कार्यालयहरु नहुँदा विश्वविद्यालयको केन्द्रीय कार्यालयको अस्तित्व संकटमा पर्दै गएको बेला अनुसन्धान केन्द्र र अध्ययन केन्द्र स्थान्तरण गर्ने निर्णयले जिल्लाको समृद्धिको ढोका खोलेको सरोकारवालाहरुले बताएका छन् ।
लामो समयको संघर्षपछि विश्वविद्यालयका महत्वपूर्ण कार्यालयहरु केन्द्रीय कार्यालय फर्कनु खुसीको कुरा भएको भन्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कार्यालयलाई व्यवस्थित गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो । महत्वपूर्ण कार्यालयहरु काठमाडौँ केन्द्रीत गरी विश्वविद्यालयलाई कमजोर पार्न खोज्ने प्रवृत्तीको बिरुद्धमा प्रधानमन्त्री र शिक्षामन्त्रीको निर्णय स्वागत योग्य भएको भन्दै प्रमुख चौधरीले यसलाई जिल्लाबासीहरुले अवसरका रुपमा लिनुपर्ने बताउनुभयो ।
त्यस्तै नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले ढिलै भए पनि नागरिकहरुको माग पुरा भएकोमा हर्ष प्रकट गर्नुभयो । विश्वविद्यालयका महत्वपूर्ण कार्यालयहरु काठमाडौँ राख्नुहुँदैन । केन्द्रीय कार्यालयमै सार्नुपर्छ भन्ने आवाज यहाँका सरोकारवालाहरुले उठाउँदै आएको प्रष्ट्याउँदै संयोजक पन्तले यो कार्यमा लाग्ने जिल्लाका सबै सरोकारवालाहरुलाई धन्यवाद दिनुभयो ।
त्यस्तै नेपाल संस्कृत विश्वविद्यालय कर्मचारी संगठनका केन्द्रीय कार्यवाहक अध्यक्ष एवं विश्वविद्यालय कर्मचारी संघ नेपाल दाङका अध्यक्ष विनय पोख्रेलले न्याय र खबरदारीको अभियानले सार्थकता पाएको बताउनुभएको छ । ‘अझै षड्यन्त्र हुन सक्छ । ढुक्क भएर बस्ने अवस्था छैन । जेठ १० गते भएको मन्त्री परिषद्को निर्णय अझै कार्यान्वयनमा आएको छैन । प्रधानमत्री र शिक्षमन्त्रीको कार्यालयबाट निर्देशनात्मक पत्र आउँदै छ भन्ने सुनिएको छ’, पोख्रेलले भन्नुभयो, ‘खबरदारीको अभियानलाई जारी राख्नुपर्छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।