डाक्टरलाई कानून कडा छैन, भ्रम नछरौं : प्रधानमन्त्री



३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १ देखि लागू हुने कानूनका विषयमा भ्रम फैलाइएको आरोप लगाएका छन् ।

बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले एक वर्षअघि नै बनेको कानूनमा अहिले डाक्टर र विभिन्न पक्षबाट भ्रम फिजाउन खोजिएको भन्दै आपत्ति जनाए ।

‘ब्यापक छलफल गरेर गत वर्ष नै पारित गरिएको कानूनमा अहिले भ्रम फैलाउन खोजिएको छ’ उनले भने ‘बिरामीको मृत्यु भएमा डाक्टरलाई जन्मकैदको व्यवस्था छ भनेर भ्रम फैलाइएको छ, त्यस्तो कानून संसदले कहिँ बनाउँछ रु’

भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा डाक्टरलाई कारबाहीको व्यवस्था कडा राखिएको भन्दै चिकित्सक संघले विरोध जनाइरहेका बेला प्रधानमन्त्रीले अनावश्यक भ्रम फैलाउने काम भएको आरोप लगाएका हुन् ।

उनले डाक्टरको विषयमा ५० वर्षदेखि एउटै कानून रहेको भन्दै यसमा भ्रम नफिजाउन आग्रह गरे । ‘५० वर्षदेखि कानूनमा जे छ, अहिले पनि त्यही छ । तर भ्रम फिजाउन खोजिएको छ । यसमा सचेत हुन साथीहरुलाई आग्रह गर्छु ।’

आफूहरु स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्ने भन्दै प्रधानमन्त्री ओलीले अनावश्यक भ्रम नफैलाउन विपक्षी दलहरुलाई आग्रह गरे । ‘हामी प्रतिस्पर्धामा विश्वास गर्छौं । प्रतिस्पर्धाको राजनीति गरौं । झुटको खेती नगरौं, भम नछरौं’ उनले भने ‘बरु जनतालाई सचेत बनाऔं ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्