नेकपा भागबन्डा : १४ जिल्लाका अध्यक्ष सर्वसम्मत



काठमाडौं नेकपाले एक दर्जनभन्दा बढी जिल्लाको नेतृत्व टुंगो लगाएको छ। नेकपाका पूर्वघटक पार्टीका जिल्ला नेताको जिल्लास्तरमै बनेको कार्यादलले अहिलेसम्म झन्डै १५ जिल्लाको पार्टी अध्यक्ष टुंगो लगाएका हुन्। प्रदेश ५ का १२ ओटै जिल्ला अध्यक्षको टुंगो लागेको छ। मोरङ, मुस्ताङलगायत जिल्लाको पनि अध्यक्षको अन्तिम टुंगो लागिसकेको छ।

प्रदेश ५ का १२ जिल्लामध्ये ७ ओटामा पूर्वएमाले र ५ ओटामा पूर्वमाओवादीका नेताले अध्यक्षको जिम्मेवारी पाएका छन्। यो प्रदेशबाट जिल्ला अध्यक्ष हुनेहरूको नामसमेत प्रदेश कार्यदललाई सर्वसम्मत सिफारिस भइसकेको नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए।

पूर्वएमालेले दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, गुल्मी र पाल्पा जिल्लाको अध्यक्ष पाएको छ। पूर्वमाओवादीले बर्दिया, बाँके, पूर्वी रुकुम, रोल्पा र नवलपरासीको अध्यक्ष पाएको छ। अध्यक्ष पूर्वएमालेले पाएका जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएका जिल्लामा सचिव एमालेतर्फका नेताले पाएका छन्।

[दाङमा शिव आचार्य, प्यूठानमा तुलसीराम शर्मा, कपिलवस्तुमा छविलाल पोखरेल, अर्घाखाँचीमा पीताम्बर आचार्य, रूपन्देहीमा गोपाल भट्टराई, गुल्मीमा बाला काउत्छा, पाल्पामा राधाकृष्ण कँडेल, मुस्ताङमा रमेश भट्टचन र मोरङमा ऋषि पोखरेलले अध्यक्ष पाएका छन्। त्यस्तै, बर्दियामा भुवन थारु, बाँकेमा अक्कलबहादुर बम, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ, रोल्पामा सुरेन्द्र घर्ती र नवलपरासीमा घनश्याम यादवले अध्यक्ष बन्दै छन् ]

दाङमा शिव आचार्य, प्यूठानमा तुलसीराम शर्मा, कपिलवस्तुमा छविलाल पोखरेल, अर्घाखाँचीमा पीताम्बर आचार्य, रूपन्देहीमा गोपाल भट्टराई, गुल्मीमा बाला काउत्छा, पाल्पामा राधाकृष्ण कँडेल, मुस्ताङमा रमेश भट्टचन र मोरङमा ऋषि पोखरेलले अध्यक्ष पाएका छन्। यी सबै पूर्वएमालेका नेता हुन्। त्यस्तै, बर्दियामा भुवन थारु, बाँकेमा अक्कलबहादुर बम, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ, रोल्पामा सुरेन्द्र घर्ती र नवलपरासीमा घनश्याम यादवले अध्यक्ष बन्दै छन्। यी नेता भने पूर्वमाओवादीका हुन्।

पार्टीको तल्लो कमिटी समायोजनका क्रममा भूगोलका ७७ जिल्लामध्ये ४४ मा पूर्वएमाले र ३३ मा पूर्वमाओवादी केन्द्रका नेतालाई जिल्ला अध्यक्ष दिने गरी अनौपचारिक भागबन्डा गरेका नेकपाले अहिले प्रदेश र जिल्ला कमिटीको संख्याको भागबन्डा सकेर नेतृत्वका विषयमा छलफल केन्द्रित गर्न थालेका छन्।

पार्टी एकताको तीन महिनासम्म पनि तल्लो कमिटीसम्म एकता हुन नसकेका बेला केन्द्रीय सचिवालयले तल्ला कमिटी र जनवर्गीय संगठन ९जवस० मोर्चाको समायोजनका लागि फरकफरक कार्यदल बनाई काम गरिरहेको थियो। कमिटीको संख्या, नेतृत्व र कमिटीमा रहने नेताको नामसहितको सुझाव प्रतिवेदन बुझाउन साउन मसान्तसम्मको समयावधि सचिवालयले दिएपछि कार्यदल तहले अन्तिम तयारी गरिरहेको छ।

शुक्रबारसम्म सबै कार्यादलले आआफ्नो प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाइसक्ने गरी तयारी गरिरहेको कार्यदलमा रहेका नेताको भनाइ छ। कर्णाली प्रदेश र प्रदेश २ मा भने पूर्वघटकले बराबरी जिल्लाको नेतृत्व बाँडफाँट गर्ने समझदारी गरेका छन्। कर्णाली प्रदेशका १० जिल्लामध्ये बराबरी आधारमा ५–५ ओटा जिल्लाको बाँडफाँटको तयारी भएको छ। तर कुन जिल्लाको नेतृत्व कुन पक्षलाई भन्ने विषयमा भने कार्यदल तहमा अझै छलफल चलिरहेकाले टुंगो नलागेको केन्द्रीय सदस्य मायाप्रसाद शर्माले बताए।

प्रदेश २ का आठ जिल्लामा भने प्रदेशदेखि जिल्ला कमिटी र नेतृत्वसम्म पनि बराबरीका आधारमा भागबन्डा लगाइएको छ। त्यसो हँुदा पूर्ववत् दुवै घटकले ४–४ ओटा जिल्लाको नेतृत्व पाउनेछन्। कुन पक्षलाई कुन जिल्लाको नेतृत्व दिने भन्ने विषय भने छलफलमै रहेको केन्द्रीय सदस्य युवराज भट्टराईले बताए। प्रदेश २ का आठै जिल्लाका जिल्ला कमिटी १ सय ६५ सदस्यीय बन्नेछ। त्यसमा ७५–७५ को भागबन्डा छ। बाँकी १५ मा पछि समायोजन गरिने सहमति गरिएको छ।

प्रदेश १ मा मोरङको जिल्ला अध्यक्षमा एमालेका ऋषि पोखरेलको टुंगो लागिसकेको छ। अन्यमा भने बाँकी छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा पूर्वएमालेले अध्यक्ष पाउनेछ। यहाँ १ सय ५ (पूर्वएमाले) र ७० (पूर्वमाओवादी) को कमिटी रहने गरी भागबन्डा मिलाइएको छ।

तेह्रथुम, इलाम, सुनसरी, झापा, मोरङलगायत जिल्लामा संख्या टुंगो लगाए पनि नेतृत्वका विषयमा भने टुंगो नलागेको नेकपा केन्द्रीय सदस्य राम कार्कीले बताए। जिल्लाले संख्या टुंग्याएर प्रदेश कार्यदललाई सिफारिस गरेपछि आफूहरूले अन्य विषयको टुंगो लगाउने उनले बताए। प्रदेश १ का १४ जिल्लामध्ये ८–६ को नेतृत्व बाँडफाँट गर्ने प्रदेश कार्यादलबीच अनौपचारिक छलफल चलेको छ। ‘छलफल चलेको छ, तर कुन जिल्ला कसलाई भनेर टुंग्याउका छैनौं’, उनले भने, ‘शुक्रबारसम्ममा टुंग्याएर केन्द्रमा सिफारिस पठाउँछौं।’

प्रदेश ३ मा भने जिल्लाले नै विषय टुंग्याउन नसक्दा प्रदेश कार्यालयले अन्य प्रदेशका तुलनामा कमै मात्र काम टुग्याएको छ। भूगोलका १३ र गैह–भूगोलका ४ ओटा जिल्ला रहेको यो प्रदेशमा भूगोलका जिल्लामा ८ र ५ को भागवन्डाको तयारी छ। एक नेताका अनुसार, काठमाडौ उपत्यकाभित्रका एउटा जिल्ला सहित मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा पूर्व माओवादीको भागमा पर्ने सम्भावना छ। काठमाडौं, काभ्रे, दोलखा, रामेछाप, चितवन, धादिङलगायत जिल्लाको नेतृत्व पूर्वएमालेले पाउनेछ।

गण्डकी प्रदेशमा जिल्लाको संख्या बाँडफाँट टुंगो लागे पनि नेतृत्वको छैन। मुस्ताङमा एमालेका रमेश भट्टचनबाहेक अन्य जिल्ला अध्यक्ष सर्वसम्मत हुन सकेका छैनन्। यो प्रदेशका ११ जिल्लामध्ये ७–४ मा भागबन्डाको छलफल चलिरहेको छ।

प्रदेश ७ को पनि संख्यालगायतका विषय टुंगिएका छन्। तर जिल्लाको भागबन्डा टुंगिएको छैन। प्रदेशका ९ जिल्लामध्ये ५–४ मा छलफल चलिरहेको नेताहरूको भनाइ छ। प्रदेश तहमा भने सात प्रदेशमा ४ ओटा पूर्वएमाले र ३ माओवादीलाई नेतृत्व दिने गरी सहमति भएको छ।

यी हुन् टुंगिएका जिल्ला अध्यक्ष

पूर्व माओवादीका

बर्दिया – भुवन थारू

बाँके – अक्कलबहादुर बम

पूर्वी रुकुम – होमप्रकाश श्रेष्ठ

रोल्पा – सुरेन्द्र घर्ती

नवलपरासी – घनश्याम यादव

पूर्वएमालेका

दाङ – शिव आचार्य

प्युठान – तुलसीराम शर्मा

कपिलवस्तु – छविलाल पोखरेल

अर्घाखाँची – पीताम्बर आचार्य

रूपन्देही – गोपाल भट्टराई

गुल्मी – वाला काउत्छा

पाल्पा – राधाकृष्ण कँडेल

मुस्ताङ – रमेश भट्टचन

मोरङ – ऋषि पोखरेल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्