आदिवासी जनजातिको माग- नयाँ मुलुकी संहिता नश्लीय भयो, संशोधन गर



काठमाडौं १ भदौ, । नेपाल आदिवासी जनजाति महासंघले सरकारले जारी गरेको नयाँ मुलुकी संहिता नश्लीय भएको आरोप लगाएको छ ।

ऐनहरूमा रहेका विभेदकारी र नश्लवादी दफाहरू संशोधन गर्न सरकारका सम्बन्धित मन्त्री, सांसदलगायत सरोकारवालाहरुलाई आग्रह गर्दा गर्दै पनि षड्यन्त्रपूर्वक जारी गरिएको भन्दै उसले गम्भीर आपत्ति जनाएको छ ।

महासंघका महासचिव नित्यानन्द ताजपुरियाले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानको प्रस्तावना र धर्मनिरपेक्षताको भावनाविपरीत नयाँ मुलुकी संहिता जारी भएकाले सच्याउन माग गरेका छन् ।

‘बहुलता र विविधतायुक्त नेपाली समाजको यथार्थताबमोजिम परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा आम नेपाली जनता र आदिवासी जनताको चाहना र भावनालाई चोट पुग्ने गरी षड्यन्त्रपूर्वक र नियोजित ढंगले तयार गरेर लागू गर्न खोजिएको छ’, महासचिव ताजपुरियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नयाँ संहिताले आदिवासी जनजातिका पहिचान मेटाएर हिन्दू धर्म र संस्कृतिको मात्रै पक्षपोषण गर्ने भएकाले लागू हुनु पूर्व नै संशोधन गर्न महासंघले सरकारसँग माग गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्