अपराध

कारागारभित्र लागुपदार्थ कारोबार

By थाहा अनलाइन

August 17, 2018

कैदीबीच झडप, तीन घाइते, आन्दोलन गर्ने कैदीको चेतावनी तानसेन ।पाल्पा कारागारमा कैदीहरूबीच झडप हुँदा तीन जना घाइते भएका छन् । चौकीदार समूह र बन्दी समूहबीच झडप हुँदा कैदी सन्तोष नेपाली, लोकबहादुर खाँड र अर्जुन घिमिरे घाइते भएका हुन् । घाइते बन्दीहरूको टाउको र हातमा चोटपटक लागेको छ ।

उनीहरूको पाल्पा अस्पतालबाट रिफर गरी लुम्बिनी मेडिकल कलेजमा सिटी स्क्यान गरी उपचार गरिएको छ । पाल्पा कारागारका हालका चौकीदार विश्वास गुरुङ, मूल नाइके लक्ष्मण चौधरी, नाइके देवनारायण ढुंगानाले बन्दीहरूमाथि चरम शोषण गर्दै आएको, कारागारभित्रै लागुऔषध कारोबार गर्दै आएको, माफी दिलाइदिन्छु भनी बन्दीहरूसँग ५ देखि ५० हजार रुपैयाँसम्म घुस लिँदै आएको आरोप लगाइएको छ ।

नाइकेहरूले सरसमान महँगोमा बिक्री गर्दै आएका, नयाँ कैदी कारागारभित्र आउँदा १ देखि २० हजारसम्म रकम असुल गर्दै आएका, नाइके नियुक्तिको लागि ५ देखि ५० हजारसम्म घुस मागेको, गुणस्तरहीन खाना खुवाएको, घरबाट ल्याई खाना खान नपाउने भन्दै कारागारभित्र अत्याचार र अशान्ति फैलाउँदै आएकोले आन्दोलनमा उत्रिनुपरेको कैदीहरूले बताएका छन् । आन्दोलनरत कैदीहरूले हालका चौकीदार नाइके बन्दीलाई अन्य कारागारमा स्थानान्तरण, छानबिन गरी कारवाही गर्नुपर्ने माग गरेका छन् । माग पूरा नभए पुनः आन्दोलन गर्ने उनीहरूले जनाएका छन् । कारागारभित्र लागुऔषधको खुला रूपमा भएको कारोबार सबै पक्षको मिलेमतोमा भएको कैदीहरूले आरोप लगाएका छन् ।

कैदीहरूले लगाएको आरोपका विषयमा सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत हुमबहादुर पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरी काम सुरु भएको प्रमुख जिल्ला अधिकारी मनोहर खनालले बताए । जिल्ला प्रहरी कार्यालयले चौकीदार गुरुङ, मूल नाइके चौधरी, नाइके ढुंगाना र नाइके लोकबहादुर खाँडलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । कैदीहरूले लगाएको आरोपका विषयमा अनुसन्धानका लागि चौकीदार, मूल नाइके र नाइकेलाई सोधपुछका लागि कार्यालयमा ल्याएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

हालै जिल्ला स्वास्थ्य कार्यालयबाट सरुवा भई पाल्पा कारागारमा जेलरको कार्यभार सम्माहलेकी भक्तिसरा रानाले राज्यले बन्दीहरूलाई दिएको सुविधा चौकीदारमार्फत नियमित रूपमा उपलब्ध गराउँदै आएको बताइन् । प्रत्येक आर्थिक वर्ष सकिएपछि कारागारभित्र नयाँ चौकीदार, नाइके चयन गर्ने नियम भएको र सोही विषयको छलफलमा दुवै पक्षबीच झडप भएको कारागार प्रमुख रानाले बताइन् । पाल्पा कारागारमा २ सय ४ जना पुरुष बन्दी रहेका छन भने ५२ जना महिला बन्दी छन् ।

अन्नपुर्ण