समाचार

प्रतिनिधिसभा संसदीय समिति सभापतिहरूको निर्वाचन सर्‍यो

By थाहा अनलाइन

August 17, 2018

काठमाडौं : संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिहरूको निर्वाचन मिति सरेको छ। सभामुख कृष्णबहादुर महराले शुक्रबार बसेको बैठकमा विशेष कारणवश भन्दै भदौ ५ गतेका लागि तय भएको सभापतिहरूको निर्वाचन भदौ १७ गतेका लागि सरेको जानकारी गराएका हुन्। अब सभापतिहरूको निर्वाचन भदौ १७ गते आइतबार ११ बजे हुने भएको छ।

राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरूको निर्वाचन पनि सरेको थियो। प्रतिनिधिसभा अन्तर्गत १० ओटा संसदीय समिति गठन भएका छन्। अहिले यी समितिहरूको नेतृत्व समितिका ज्येष्ठ सदस्यले गरिरहेका छन्। शुक्रबारको बैठकमा सरकारले भुक्तानी तथा फस्यौट विधेयक २०७५ विधेयक प्रस्तुत गरेको छ। सरकारका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले सो विधेयक प्रस्तुत गरेका हुन्। विधेयकमाथि कुनै पनि विरोधको सुचना परेका छैनन्। प्रतिनिधिसभा बैठक अब भदौ ४ गते बस्नेगरी स्थगित भएको छ।