सल्यानी खुकुरीको माग बढ्यो, अर्डर गरेको एक हप्तामा पनि पाउनै मुस्किल



मिना बुढाथोकी

सल्यान, १ भदौ । सल्यानको पहिचान बनेको सल्यानी खुकुरीको माग अत्याधिक बढेको छ । सल्यान छोडेर जानेहरुलाई उपहारको रुपमा दिने र जिल्लामा आउने हरेकले लैजाने सल्यानी खुकुरीको माग अत्याधिक बढेपछि पु¥याउनै मुस्किल छ ।

सल्यानी खुकुरी उपहार स्वरुप दिने, घरायसी काममा बढी मात्रामा प्रयोग गर्ने जस्ता कारणले पनि सल्यानी खुकुरीको माग बढ्दै गएको हो । ‘सल्यानी खुकुरी उपहारको रुपमा लिने प्रचलन बढेकोले पु¥याउनै धौधौ छ’, खुकुरी उद्यमी विष्णु विश्वकर्माले भने, ‘अहिले त नेपालमा मात्रै नभएर विदेशमा समेत उपहारको रुपमा पठाउने प्रचलन बढेको छ ।’

सल्यानको शारदा नगरपालिका २ खलंगामा स्थित विश्वकर्मा टोलमा रहेका १० परिवारमध्ये ६ परिवारले पुख्र्यौली खुकुरी बनाउने पेशा अंगालिरहेका छन् । आफूहरुले विभिन्न प्रकारका खुकुरीका साथै खुडा, चक्कु, चुलेसी लगायतका समाग्रीहरु समेत बनाउने गरेको स्थानीय जुद्ध बहादुर विकले बताए । सशस्त्रद्धन्दको समयमा खुकुरी बनाउने पेशा बन्द नै भएपनि शान्तिप्रक्रिया शुरु भएसँगै यो पेशाको पुनः शुरुवात गरिएको उनले बताए ।

आफूहरुसँग अहिले सल्यानी खुकरी, सिरुपाते, टोरा ओखोला, टोरा दुईचिरा, हवल्दार, क्षेत्री, जिडव्लु खुकुरी, डव्लुडव्लु वान, डव्लुडव्लु टु जस्ता एकदर्जन खुकुरी बनाउने सिप भएको उनले बताए ।

माग बढ्यो युवाहरुको आकर्षण बढेन

खुकुरीको माग अत्याधिक बढेपनि युवा पुस्ताको आकर्षण बढ्न नसक्दा यो पेशा संकटमा पर्न सक्ने देखिएको छ । विश्वकर्मा टोलमा रहेका युवाहरु अन्य पेशामा जान थालेको र अन्य समुदायका मानिसहरु समेत यस पेशामा नआएकोले यो पेशा संकटमा पर्न सक्ने देखिएको स्थानीय जुद्ध बहादुर विकले बताए ।

विकले भने, ‘हामी जीवनभर यहि काम गरिरहेकाहरु बुढो भैसक्यौँ, अव पछाडिकाले यो पेशा रोजेनन्, हामीसँगै यो पेशा पनि हराउने पो हो कि भन्ने चिन्ता छ ।’

खुकुरी अर्डर गरेको एक हप्तामा पनि पाउनै मुस्किल

अहिले खुकुरीको माग अत्याधिक आउने तर, माग अनुसारको पुर्ति गर्न नसकेको खुकुरी उद्यमी इन्द्र विकले बताए । ‘माग धेरै आउँछ हामीले माग अनुसारको नै आपूर्ती गर्न सकेका छैनौँ, बिहान आरनमा बसेपछि साँझ निस्कन्छौ, अहिले माग धेरै भयो, तर उत्पादन भएन’ उनले भने, ‘खुकुरी अर्डर गरेको कम्तीमा एक हप्तापछि मात्रै खुकुरी किन्न पाइन्छ । माग अनुसार उत्पादन गर्ने जनशक्ति नहुँदा समस्या छ ।’

खुकुरी बनाएर उनिहरुले सबै खर्च कटाएर मासिक २५ हजार सम्म कमाउँदै आएका छन् । तरपनि आवश्यक जनशक्ति नहुनु, विद्युत्तको समस्या, कोईला नपाईनु जस्ता समस्याका कारण पनि प्रयाप्त मात्रामा उत्पादन गर्न नसकिएको बिकले बताए । उनका अनुसार सल्यानी खुकुरी देशभित्र काठमाडौं, पोखरा, बुटवल तथा देशबाहिर अमेरिका, अस्ट्रेलिया, युरोप, जापान लगायत देशमा उपहारका रूपमा पठाउने गरिएको छ ।

एक अंगुल बराबरको एक सय रुपैयाँमा बेच्ने गरेको खुकुरी अहिले सल्यानको चिनारीका रुपमा जाने गरेको छ । शुरुमा ५ वटा खुकुरी उद्योग संचालन भएपनि ती मध्ये अहिले दुईवटा बन्द भईसकेका छन भने तीनवटा मात्रै संचालनमा छन् । सल्यानी खुकुरी उद्योगहरुमा पहिले बन्दुक समेत निर्माण गर्ने गरिन्थ्यो तर हाल यो काम भने बन्द गरिएको छ । खुकुरीको बढी माग सेनाका ब्यारेकहरुबाट आउने गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्