टुङ्गो लाग्यो अखिल एकता, दीर्घ लेखिने भयो ‘यू



काठमाडौँ, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को विद्यार्थी संगठन अनेरास्ववियुको  ‘यु’लाई दीर्घ (यू) लेखिने भएको छ ।  शुक्रबार बसेको कार्यदलको बैठकले संगठनको नाम अनेरास्ववियुको ‘यु’ लाई दीर्घ (यू) लेख्ने सहमति गरेको हो ।

पूर्वएमालेको अनेरास्ववियु र पूर्वमाओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) एकताका लागि गठित कार्यदलले एकीकृत संगठनको नाम र केन्द्रीय समितिको टुंगो शुक्रबार लगाएको छ ।

सहमतिसँगै अब नेकपाको विद्यार्थी संगठनको नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ‘अनेरास्ववियू) हुने भएको छ ।एकीकृत संगठनको केन्द्रीय समिति ४९९ सदस्यीय हुने भएको छ । जसमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने छन् ।

संगठनको नेतृत्वको बारेमा भने छलफल भइरहेको छ । अर्काे बैठकमा नेतृत्वको समेत टुंगो लगाइने कार्यदलले जनाएको छ । विद्यार्थी संगठन एकताका लागि गठित कार्यदलमा रविन्द्र अधिकारी, रमेश मल्ल, नविना लामा र रंजित तामाङ सदस्य रहेका छन् ।

एककीकृत विद्यार्थी संगठनको अध्यक्षका लागि ऐन महर, रंजित तामाङ, महेश बर्तौला, आरसी लामिछाने, सुरेन्द्र बस्नेत, उत्तम अधिकारी लगायतले लविङ गरिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्