जनभावनाअनुसार काम गर्न विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन



काठमाडौं : उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जनभावनाअनुसार चल्न नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन्। विद्युत् प्राधिकरणप्रति सेवाग्राहीको गुनासो बढिरहेका बेला मन्त्री पुनले जनभावनाअनुसार चल्न प्राधिकरणका कर्मचारीहरुलाई सचेत गराए।

उनले जनताको सेवक हुँ भन्ने भावनाका साथ काम नगर्ने कर्मचारीलाई पदबाट बर्खास्त गर्ने चेतावनी पनि दिए। शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३३ औँ वार्षिकोत्सव कार्यक्रमलाई काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पुनले प्राधिकरणका कर्मचारीहरुले जनताको आवाज नसुनेको गुनासो आफूसँग आएको उल्लेख गर्दै त्यस्ता कर्मचारीलाई पदबाट हटाउन सकिने स्पष्ट पारे। उनले राम्रो काम गर्ने कर्मचारीलाई जनताले पनि सम्मान गर्ने गरेको पनि स्मरण गराए। मन्त्री पुनले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेगरी कामलाई अघि बढाउन पनि नेपाल विद्युत् प्राधिकरणलाई निर्देश गरे।

निजी क्षेत्रसँग प्रतिस्पर्धा नगरे प्राधिकरणको औचित्य नहुने मन्त्री पुनको भनाइ छ। मन्त्री पुनले प्राधिकरणको नियमनका लागि विद्युत् नियमन आयोग गठन गर्ने घोषणा पनि गरे।

उनले आयोग गठन गर्नका लागि सरकारले त्यसको ऐन र नियमावली बनाउने कामलाई सम्पन्न गरिसकेको जानकारी दिए। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव एवं प्राधिकरणका अध्यक्ष अनुपकुमार उपाध्यायले नागरिकलाई गुणस्तरीय सेवा वृद्धिमा ध्यान दिन प्राधिकरणलाई सचेत गराए।

उनले जनताको चाहेकै ठाउँमा विद्युत् उपलब्ध गराउनका लागि आवश्यक योजना बनाउन ढिलाइ गर्न नहुनेमा पनि जोड दिए। कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको वार्षिक प्रगति विवरण पेस गर्दै यसको सेवालाई भरपर्दो, गुणस्तरीय र सर्वसुलभ बनाउनु प्राधिकरणको मुख्य चुनौती रहेको बताए।

उनले विद्युतको नियमित आपूर्ति र चुहावट नियन्त्रण नै एक वर्षको मुख्य अभियान भएको पनि जानकारी दिए। प्राधिकरणले यस वर्ष १ अरव १ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले नियमित विद्युत् आपूर्ति र चुहावट नियन्त्रणका कारण प्राधिकरणले सो मुनाफा आर्जन गर्न सफल भएको पनि स्पष्ट पारे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्