पुल बगाएपछि समस्या



जाजरकोट, २ भदौ   बाढीले केही पुल बगाएपछि नलगाड नगरपालिकाका बासिन्दालाई समस्या भएको छ । पुल तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन् भने सयाँ स्थानीय बासिन्दालाई पनि आवतजावतमा कठिनाइ भएको छ । गत साउन २६ गते आएको बाढीले यहाँको वडा नं १, २, ३, ४ र ५का खोलाका पुल बगाएको थियो ।

त्रिभुवन माध्यमिक विद्यालय दल्ली र जनकल्याण निमाविमा पढ्ने विद्यार्थी पढाइबाट बञ्चित भएको शिक्षक दिनेश ओलीले बताउनुभयो । रुकुमको आठविसकोट नगरपालिकाबाट पढ्न आउने विद्यार्थीसमेत पढाइबाट बञ्चित भएका छन् । पुल नहुँदा साविकका लहँ र डाँडागाउँ गाविसका बासिन्दाको आवतजावत ठप्प भएको छ । खोलाले पानीघट्टसमेत बगाएकाले अन्न पिस्न नपाइ समस्या थपिएको डाँडागाउँका चन्द्र पुनले बताउनुभयो ।

 

झुम्रेखोलामा आएको बाढीले यहाँको कालिमटी र घुवारामा रहेको पुल बगाएकाले बारेकोट गाउँपालिकामा जाने–आउने बाटोका साथै जाजरकोट–डोल्पा सडक खण्डसमेत अवरुद्ध भएको छ । सयौँ यात्रु खोला तर्न नसक्दा समस्यमा परेका छन् । सडक अवरुद्ध हुँदा नलगाड हाइडा पावरको काम समेत बन्द भएको छ । निर्माणस्थल दल्लीमा आउने सडक अवरुद्ध भएपछि आयोजनाको काम ठप्प भएको हो । सुरुङ निर्माणको काम अवरुद्ध भएपछि तीन दर्जन मजदुर बेरोगार भएको स्थानीयवासी लोकेन्द्रविक्रम शाहीले बताउनुभयो ।

त्यस्तै नलगाड–८ स्थित पञ्च भयार मावि र कायखेतस्थित मष्ट प्राविका विद्यार्थी पनि पुलको अभाबमा विद्यालय जान पाएका छैनन ।
बाढीले बगाएका ठाउँमा अस्थायी पुल निर्माण गरिने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । बाढी र पहिराबाट भएको क्षतिका विषयमा अध्ययन गर्न कार्यदल गठन गरिएको छ । करोडाँैको क्षति भएका कारण नगरपालिकाले मात्रै समाधान गर्न नसक्ने उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्