यी हुन् ‘विश्वका सबैभन्दा गरिब’ कम्युनिष्ट राष्ट्रपति



भदौ २, काठमाडौं । उरुग्वेका पूर्वराष्ट्रपति होजे मुहिकालाई ‘विश्वको सबैभन्दा गरिब राष्ट्रपति’ भनिन्छ ।

त्यसको कारण उनको ज्यादै साधारण जीवनशैली हो । राजनीतिबाट रिटायर्ड भएपछि पनि उनले पेन्सन लिन समेत इन्कार गरे । पदमा रहँदा पनि उनले आफ्नो सबै पारिश्रमिक दान गरेका थिए ।

राष्ट्रपति बनेपछि पनि मुहिका सन् २०१५ मा उरुग्वेको संसदको सिनेटर बने । गत मंगलबार उनले आफ्नो कार्यकाल सकिनुभन्दा अगाडि नै पदबाट राजीनामा दिए । ८३ वर्षीय मुहिकाले भनेका छन्-मैले आफ्नो कार्यकाल पूरा गर्न सक्दिनँ । किनकि यो लामो यात्रामा म थाकिसकेको छु ।

मुहिकाले सिनेटको अध्यक्ष एवम् उपराष्ट्रपति लुसिया तोपोलान्स्कीलाई आफ्नो राजीनामा पत्र पुर्‍याएका थिए । लुसिया मुहिकाको श्रीमती पनि हुन् । उक्त पत्रमा राजीनामा दिनुको कारण ‘व्यक्तिगत’ भनिएको छ ।

वामपन्थी नेता मुहिकाले राजीनामा पत्रमा लेखेका छन्, ‘तर पनि जबसम्म मेरो दिमागले काम गरिरहन्छ, म एकता र विचारको लडाइँबाट राजीनामा दिन सक्दिनँ ।

साधारण जीवनशैली

मुहिका राष्ट्रपति बनेपछि विशाल भवनमा बस्न अस्वीकार गरेका थिए । उनी आफ्नी पत्नीसँग राजधानी मोन्टेविडियोको बाहिरी इलाकाको एक फार्म हाउसमा बस्दै आएका छन् । यी दुवै पति-पत्नी विद्रोही ग्रुपका सदस्य समेत थिए ।

राष्ट्रपतिको पदमा रहुन्जेलसम्म उनले आफ्नो अधिकांश तलब दान गरेका थिए । सन् २०१० मा राष्ट्रपति बनेपछि उनीसँग सम्पत्तिको नाममा केबल १९८७ फोक्सवागन भिटल कार थियो ।

हल्का नीलो रंगको उक्त कार निकै प्रसिद्ध भयो र सन् २०१४ मा एक व्यक्तिले १० लाख डलरमा उक्त कार किन्न खोजे । तर मुहिकाले बेच्न मानेनन् । त्यतिबेला उनले मैले यो कार बेचें भने मेरो कुकुरलाई घुमाउन लैजान पाउँदैन भनेका थिए ।

छुचो बोलीका कारण विवाद

मुहिका छुचो बोलीका कारण कहिले काहिँ विवादमा पनि आउँछन् । कतिपटक त उनले माफी पनि माग्नु परेको छ । राजीनामा पत्रमा पनि उनले आफ्नो बोलीको कारण कसैलाई दुःखी बनाएको भए म माफी माग्दछु पनि भनेका छन् ।

सन् २०१३ मा उनले अर्जेन्टिनाको तत्कालीन राष्ट्रपति क्रिस्टिनालाई ‘बूढी बोक्सी’ भनिदिएका थिए । यसैगरी सन् २०१६ मा भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोलाई पनि उनले ‘पागल बाख्रो जस्तो’ भनेर टिप्पणी गरेका थिए ।

मुहिकाको राजीनामा अचानक आएको भने होइन । उनले यसअघि नै भनेका थिए कि ३ अगस्टमा संसदमा म अन्तिम पटक आउने छु । उनले पदबाट किन राजीनामा दिए भन्ने वास्तविक कुरा अहिले एकिन भइसकेको छैन । तर सिनेटर लुईस अलबर्टो हीबरले भने आफूले मुहिका सन् २०१९ मा फेरि राष्ट्रपति लड्ने तयारी गरेको र त्यसैका लागि राजीनामा दिएको सुनेको बताएका छन् ।

समर्थकहरुले आगामी दिनको मुहिकालाई शुभकामना दिए पनि सामाजिक सन्जालहरुमा भने केही आलोचना भएको छ । मुहिका ७० को दशकमा विद्रोही समूहमा सामेल भएकाले माफी माग्नुपर्ने उनका आलोचकहरुले बताएका छन् ।

–बीबीसी हिन्दीबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्