मुख्य समाचार

फोटोसहितको मतदाता नामावली संकलन आजदेखि, प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग छलफल गर्ने

By थाहा अनलाइन

July 16, 2017

असार १

निर्वाचन आयोगले आजदेखि फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्ने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावका लागि आयोगले आगामी १५ गतेसम्म मतदाता नामावली संकलन गर्न लागेको हो । दलहरुले गाउँमा नै गएर मतदाता नामावली संकलन गर्न आग्रह गरे पनि आयोगले भने जिल्ला समन्वय समितिबाटै मतदाता नामावली संकलन गर्ने बताएको छ । आयोगले सूचना निकालेर १८ वर्ष पुगेका तर मतदाता नामावलीमा नाम नलेखाएका वा लेखाए पनि ठेगाना लगायत विवरण फरक परेकालाई आफ्नो स्थायी ठेगाना भएको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो । नाम दर्ता गर्न वा सच्याउन जाँदा आफ्नो नागरिकताको प्रमाणपत्र लिएर जानुपर्नेछ । यसअघि नै नाम दर्ता गराएका र नामावली सच्याउन नपर्ने व्यक्तिले भने फेरि पनि नाम दर्ता गराउन नपर्ने आयोगले स्पष्ट पारेको छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयुक्तहरुसँग यसबारेमा छलफल गर्ने हुनुभएको छ । दिउँसो ४ बजे हुने छलफलमा आगामी चुनावको तयारी र मतदाता नामावली संकलनको समयका विषयमा कुराकानी हुनेछ । प्रधानमन्त्री देउवाले नामावली संकलनको समय १५ दिन थप गर्ने र आफू रहेकै ठाउँबाट नामावली संकलन गर्ने व्यवस्था मिलाउने विषयमा छलफल गर्न लाग्नु भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।