विकासको नेतृत्व लिन जनप्रतिनिधिलाई प्रधानमन्त्रीकाे आग्रह



जनकपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई विकासको नेतृत्व लिन आग्रह गरेका छन्। प्रदेश २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै ओलीले बृहतस्तरको उत्पादन र समूहिक कृषि प्रणाली अनुशरण गर्न सुझाव दिएका छन्।

 प्रदेश २ कृषि उत्पादन र औद्योगिक सम्भावनाका हिसावले उत्कृष्ट रहेको भन्दै ती संभावना उपयोगमा ल्याउने पहल गर्न जनप्रतिनिधिलाई सुझाव दिएका हुन्। कृषियोग्य भूमि सहकारीका माध्यमबाट ठेक्कामा लिएर सहकारीमार्फत कृषिमा आधुनिकीकरण गर्न सकिने उनले बताए। यसबाट कृषियोग्य बस्तुको निर्यात बढाउन सकिने उनको भनाइ छ। ‘तपाईहरु विकासका योजना बनाएर दिनुहोस् हामी कार्यान्वयनका लागि सहयोग गर्छौं,’ उनले भने।

तराई क्षेत्रमा सिँचाइ क्षमता विस्तार गर्न चुरे क्षेत्रमा रिजर्भायर बनाउन सकिने, सानो स्तरमा रिभर कनेक्सन गर्ने, र सौर्यऊर्जा मार्फत जमिन मूनिको पानीसमेत उपयोगमा ल्याउन सकिने संभावना औल्याए। सुनकोशी कमलामाई डाईभर्सन योजनाले तराइको सिँचाइमा उल्लेख्य प्रगती हुने ओलीको भनाइ छ।

प्रदेश २ विकासका उपलब्धी हासिल गर्न अग्रस्थानमा रहेको भन्दै ओलीले रेलसेवा विस्तार यही प्रदेशमा हुन लागेको जनाएका थिए। ओली सरकारको समृद्धि योजनाको आलोचना गर्नेहरुलाई लक्षित गर्दै उनले भने, ‘अहिले जनताको आवश्यकता दाल, भात, तरकारी हो, तर प्रधामन्त्रीले रेलका कुरा गरिरहेको छ भन्ने पनि छन्,’ ओलीले भने, ‘म प्रधानमन्त्री हुँदा रेल गुडाएरै छोड्ने घोषणा गरेको थिए। रेल गुड्छ। सबैभन्दा पहिले रेल प्रदेश दुईमा नै गुड्नेछ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्